१ माघ, नेपालगञ्ज । माघे संक्रान्ति, मकर संक्रान्ति, माघी पर्व आज हर्षाेल्लासका साथ मनाइँदैछ ।
माघे संक्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिउँदको एउटा महत्वपूर्ण महिना हो ।
आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछ र आजको दिनलाई माघे संक्रान्ति, तिलुवा संक्रान्ति या मकर संक्रान्ति या माघीका रूपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्वका साथ मनाइने गरिन्छ । थारु समुदायले माघे संक्रान्तिलाई माघी पर्वको रुपमा मनाउने गरेका छन् ।
माघे संक्रान्तिलाई सामाजिक सद्भाव, मेलमिलाप, स्वतन्त्रता र सांस्कृतिक पर्वको रूपमा लिइन्छ । थारू समुदाय माघे संक्रान्ति पर्वलाई कम्तीमा पाँच दिन मनाउँछन् ।
पौष मसान्तको अघिल्लो दिन नजिकको तालतलैया, नदी, सागर वा कुलोमा गएर माछा मार्ने चलन छ । यसलाई थारू जातिले मच्छीमर्ना माघ भन्दछन् ।
माघे संक्रान्तिका दिन रातो मासु देखाउन हुँदैन भन्ने पौराणिक मान्यताअनुसार पुस मसान्तको दिन सुँगुर, बंगुर काट्ने प्रचलन छ । यो दिनलाई सुवर मर्ना माघ भनिन्छ । धार्मिक, सामाजिक र सांस्कृतिक पर्व माघ १ गते अर्थात् माघे संक्रान्तिको बिहान नदी, ताल र सागरमा गएर स्नान गर्ने कार्य नै माघे संक्रान्तिको मुख्य विशेषता हो । माघे संक्रान्तिमा नुहाउने दिनको अघिल्लो रात अर्थात् पुस मसान्तको रात मटावा (बरघर) को घरमा रातभर धुम्रु गीत गाउने र छोक्रा नाच नाच्ने परम्परा छ । नाचमा वृद्धवृद्धादेखि युवायुवती सहभागी हुन्छन् । रातभर जाग्राम बसेर नाचगान गर्नेहरू भालेको डाँकोसँगै नाचगान गर्दै नदी, ताल वा सागरमा गएर स्नान गर्छन् स्नान गरिसकेपछि आफूभन्दा मान्यजनसँग टीका लगाउने र साइनोअनुसार ढोगसलाम गरी आशीर्वाद लिइन्छ । नदीमा नुहाउन गएकाहरुले सेतो टीका लगाउँछन्।
पाँच दिनसम्म मनाइने यो पर्वको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ । आजको दिनबाट थारु समुदायको संवत २६४७ प्रारम्भ भएको
छ ।
आजको दिनलाई मधेशी समुदायले खिचडी पर्वको रुपमा मनाउने गरेका छन् जलाशय, नदी वा धारामा एकाविहानै नुहाएर यस दिन विहान खिचडी पकाएर खाने चलन रहेको छ । बेलुका भने मिठामिठा परिकार पकाउने र इष्टमित्र तथा पाहुनाहरुलाई घरमा बोलाएर खुवाउने गरिन्छ ।
सनातन संसकारमा तिलको विशेष महत्व छ, चाहे होम जाप गर्नलाई चरुको रूपमा होस् या पूजा गर्दा अनि दान गर्दा होस् या कुनै पितृ कर्म अनि शुभ कार्य, तिल अपरिहार्य छ । आजको दिन तिलको पकवानका लागि प्रसिद्ध छ, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाइएका लड्डुहरू आजको विशेष परिकार हो, त्यसै कारणले पनि माघे संक्रान्तिलाई तिलुवा संक्रान्ति पनि भनिन्छ । आजबाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजबाट हिउँद घट्दै जाने र वसन्तका साथै ग्रीष्म बढ्दै जाने मान्यता छ ।
आजको दिन बिहान सबेरै नुहाई धुवाई गरेर, चोखो कपडा, ब्राह्मणलाई दान दक्षिणा दिइनुको साथै कतिपय घरमा त आजको दिन रुद्री या सत्यनारायण भगवानको पूजा लगाउने कार्य समेत गरिन्छ । तिल र चाकु मिसाएको परिकार तथा तरुल आदी खानाले जाडोमा शरीरलाई न्यानो प्राप्ति हुने गर्दछ ।
वर्ष दिनमा दुई पटक सूर्यको स्थितिमा परिवर्तन हुने गरेको छ । ती दुई परिवर्तनलाई “उत्तरायण र दक्षिणायन“ भनेर बुझिन्छ । ६–६ महिनाको अवधिमा सुर्यले मकर राशि देखि मिथुन राशिसम्म गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने जब सूर्य कर्कट राशि देखि धनु राशिसम्म प्रवेश गर्दछ त्यो समयलाई दक्षिणायन भन्ने गरिन्छ ।
शास्त्रको अनुसार उत्तरायणलाई सकारात्मकता तथा दक्षिणायनलाई नकारात्मकताको प्रतीक मान्ने गरिन्छ । शास्त्रको अनुसार उत्तरायणको ६ महिना देवताहरूको एक दिन हुन्छ भने दक्षिणायनको ६ महिना देवताहरूको एक रात ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here