नेपालगन्ज, पुस ७ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको नेपाल एकीकृत विकास परियोजना २ अन्तर्गत विपन्न र गरिब किसान समुहको खाद्यान्न उत्पादन र तरकारी खेतीमा संलग्नता आयस्तर बढाउने उद्देश्यले साना सिँचाइ सुविधा प्रदान गरिएको छ ।
खजुरा गाउँपालिकाको वडा नं २ र ३ मा २ थान र नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ र ६ मा ४ थान गरी कुल ६ वटा सिँचाइ सुविधा जडान गरेर किसान समुहलाई हस्तान्तरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
बाँके युनेस्को क्लबले आयोजना गरेको हस्तान्तरण कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, अध्यक्ष रवि कुमार तुलाधर, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, पूर्व अध्यक्ष राजेन्द्र चौधरी, बागेश्वरी बहुउद्देश्यीय कृषि बजार सहकारी लिमिटेडकी कमला न्यौपाने र कार्यक्रम संयोजक बिनिता आर.सी. लगायतको सहभागिता रहेको थियो ।
विपन्न र गरिब किसानहरु सम्मिलित समुहले सिँचाइ सुविधा पाएपछि किसानहरु निकै हर्षित भएको र यसको उचित उपयोग र समयमै मर्मतसम्भार गर्ने आश्वासन समेत उनिहरुले दिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
कतार च्यारिटि नेपालका कार्यक्रम प्रबन्धक ईर्शाद शेखले सिचाई सुविधा पाएपछि तरकारी लगायतका कृषि उत्पादन बढ्ने र त्यसबाट हुने आर्थिक सक्षमताले उनीहरूलाई आफ्ना छोराछोरीलाई शिक्षा दिन र परिवारका अन्य आधारभूत आवश्यकताहरू पूरा गर्न थप सक्षम बनाउने बताउनुभयो ।
सोही प्रकारले कतार च्यारिटि नेपालका ईन्जिनियर आमिर फैसलले साना सिँचाइ सुविधाले आवश्यकताको समयमा बालीकालागि पानी उपलब्ध गराउने भएकाले किसान समूहले वर्षाको पानीमा भर पर्नु नपर्ने बताउनुभयो ।
बाँके युनेस्को क्लबले कतार च्यारिटि नेपालको सहयोगमा बाँके जिल्लामा गरिब र विपन्न परिवारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here