२४ मंसिर, नेपालगञ्ज । ‘म हिंसा गर्दिन, म हिंसा सहन्न, म हिंसा हुन दिन्न’ नाराका साथ लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान–२०८० को अवसरमा बाँके जिल्लाका मानव अधिकार तथा महिलाहरुको क्षेत्रमा काम गर्ने गैर सरकारी संघ संस्थाहरुले १६ दिनसम्म दिनहुँ विविध कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।
सोही सन्दर्भमा अन्तर्गत अखिल नेपाल अखिल नेपाल महिला संघ बाँकेले किशोरीहरुका लागि स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरेको छ ।
अखिल नेपाल महिला संघ बाँकेकी अध्यक्ष मीना ढकालको अध्यक्षतामा ‘महिला हिंसा अन्त्यका लागि सुदृढ संगठन, हिंसा मुक्त समाज निर्माणमा लगानी हाम्रो अभियान’ लैंगिक हिंसा अन्त्यको सुनिश्चिताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’’ भन्ने यस बर्षको मूल नाराका साथ विद्यालयका किशोरीहरुलाई स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेलले १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको इतिहास, दिवस मनाउनुको कारण, किशारीलाई स्वास्थ्य सचेतनाको आवश्यकता लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।
यसैगरि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य एकमाया विकले लैंगिक हिंसा विरुद्ध आफुले भोगेका अनुभव सुनाउँदै किशोरीहरुलाई लैंगिक हिंसा विरुद्ध खुलेर लाग्न र लैंङ्गिक हिंसा सहेर नबस्न सुझाव दिइन् ।
अखिल नेपाल महिला संघ बाँकेकी अध्यक्ष मीना ढकालका अनुसार प्रायः महिलाहरु पुरुषको दाँजोमा बढि मात्रामा लैंगिक हिंसा खेप्नुपर्ने भएकोले महिलाहरुलाई सचेत पार्ने उद्देश्यले किशोरीहरुलाई सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।
पश्चिम नेपालको छात्राहरुको पुरानो स्थानीय सरस्वती माध्यमिक विद्यालय नेपालगञ्ज कक्षा ९ र १० मा अध्ययनरत किशोरीहरुको सहभागितामा उक्त कार्यक्रम गरिएको हो ।
सो अवसरमा स्वास्थ्यकर्मी शर्मिला थापाले किशोरी रजस्वला भएको अवस्थामा अपनाउनु पर्ने सतर्कता, सरसफाईमा ध्यान दिनुपर्ने कुरा लगायतका विषयमा प्रशिक्षण दिएकी थिइन् ।
यसैगरि स्वास्थ्यकर्मी सुमन गिरी श्रेष्ठले गुडटच र व्याडटच के के हो र कसरी छुट्याउने केके सतर्कता अपनाउने जस्ता विषयमा प्रशिक्षण दिइन् ।
किशोरीहरुलाई लक्षित गरी संचालन गरीएको उक्त कार्यक्रममा अनेमसंघ प्रदेश सदस्य तलत प्रविण खान, अनेमसंघ जिल्ला कमिटिका कोषाध्यक्ष कमला तिवारी, सदस्य कला भुसाल, ज्ञानु केसी, अनेमसंघ नगर कमिटिका अध्यक्ष रीना पौडेल, उपाध्यक्ष मैया तिवारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी किशोरीहरुले किशोर अवस्थामा हुने परिवर्तनका विषयमा चासोका साथ सुनेर जिज्ञासा राखेका थिए ।
स्वास्थ्य सचेतना कार्यक्रम नेपालगन्ज नगरपालिकाका प्रत्येक वडामा संचालन गर्न आवश्यक रहेको पनि कार्यक्रममा सहभागीहरुबाट जोड दिइएको थियो ।
उल्लेखनीय छ, हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्वर १० सम्म विश्वभर मनाइने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शनिवारदेखि शुरु भएको हो ।
‘लैंगिक हिंसा मानव अधिकारको हनन् हो’ भन्ने मूल नाराका साथ विश्वव्यापी रुपमा जनचेतना फैलाउने उद्देश्यले नेपालमा पनि हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि महिला हिंसा विरुद्धको १६ दिने अभियान राष्ट्रियव्यापी रुपमै दिवसका रुपमा मनाउने गरिएको छ ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदी बहिनीलाई सन् १९६० नोभेम्बर २५ का दिन तत्कालीन ताना शाह राफेल ट्रिजिलो तानाशाही सरकारले विभत्स हत्या गरेको र उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको विभत्स हत्यालाई महिला विरुद्धको हिंसाको रूपमा लिएर तीनै मिराबल दिदीबहिनीहरुको अधिकारकर्मलाई सम्मान गर्दै अभियानको पहिलो दिनलाई महिला माथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्ने दिवसका रुपमा उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।
सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान शुरु भएको पाइन्छ । नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिए तापनि विसं २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
यसैलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउन थालिएको हो । महिलामाथि हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैंगिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैंगिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबीच ऐक्यबद्धता गर्नु, लैंगिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य रहेका छन् ।
नोभेम्बर २५ देखि डिसेम्बर १० का वीचमा पर्ने अन्य दुई महत्वपूर्ण दिवसलाई पनि यही १६ दिने अभियान अन्तर्गत मनाउने गरिएको छ । जसमा डिसेम्बर १ एड्स दिवस र डिसेम्बर १० मा विश्व मानव अधिकार दिवस पर्दछन् । यस अभियानअन्तर्गत विश्वव्यापी रुपमै महिला हिंसासँग सम्बन्धित चरणबद्ध अन्तरक्रिया, सडक नाटक, पोष्टर तथा पम्प्लेट प्रतियोगिता, सार्वजनिक सुनुवाइ, सूचना–शिक्षा सामग्रीको प्रदर्शन, सञ्चार अभियान, गोलमेच छलफल लगायत कार्यक्रम गरी मनाउने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here