६ मंसिर, नेपालगञ्ज । नवौं धारा नेपालगञ्ज म्याराथनमा यस बर्ष नगद पुरस्कार वृद्धि गरिएको छ ।
यहि मंसिर ९ गते आयोजना हुने नवौं धारा नेपालगञ्ज म्याराथनको विजेताले नगद दुई लाख पाउनेछन् । त्यसैगरी दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार, छैटौंले १० हजार, सातौं र आठौंले समान ५÷५ हजारबाट पुरस्कृत हुनेछन् । यसमा ४५ बर्षमाथिको धावकलाई पनि स्थान निर्धारण गरि प्रोत्साहन गरिनेछ ।
हाफ म्याराथन (महिला)मा प्रथम हुनेले ७५ हजार, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार, पाँचौंले १० हजार, छैटौं, सातौं र आठौंलाई समान ५÷५ हजार नगदले पुरस्कृत हुनेछन् ।
त्यस्तै १० किलोमिटर महिला र पुरुषतर्फ शीर्ष तीन जनालाई ३० हजार, १५ हजार र १० हजार नगदले पुरस्कृत गरिनेछ । स्कुलस्तरीय ५ किलोमिटर दौडमा शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजार प्रदान गरिनेछ । यसमा बाँके जिल्ला बाहिर र जिल्लाभित्रका विद्यार्थीलाई समेटिएको छ । यसमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ को अलग अलग स्थान निकालिनेछ । ह्वीलचेयर दौडमा पनि पुरुष तथा महिलातर्फ अलग–अलग शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजारबाट पुरस्कृत गरिनेछ । किड्स रनतर्फका विजेतालाई शैक्षिक उपहारबाट प्रोत्साहन गरिनेछ । कर्पोरेट पाँच किलोमिटर दौडमा विजेतालाई पदक र विभिन्न आकर्षक प्याकेजबाट सम्मानित गरिनेछ ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगञ्ज म्याराथन आयोजना हुँदैआएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगञ्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदैआएको छ ।
क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगञ्ज म्याराथनको अघिल्लो दिन नेपालगञ्ज कनक्लेभ आयोजना हुँदैछ । यसमा नेपाल युवा उद्यमी मञ्च नेपालगञ्ज च्याप्टरसँग सहकार्य गरिएको छ ।
नेपालगञ्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । जापानको ओशाकामा भएको २३ औं सभामा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिएका थिए । यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार हुने अपेक्षा छ । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगञ्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगञ्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।
साथै, नेपालगञ्ज म्याराथनका क्रममा कार्यक्रमलाई भव्य बनाउन सहभागिता जनाउने विभिन्न व्यक्ति तथा संस्थालाई पनि पुरस्कृत गरिनेछ । ‘सबै जाति, सबै भाषा एक ठाउँः सबै मिलि देश बनाउँ’ भन्ने हेतुले म्याराथन रुटमा खेलाडीको हौसलाका लागि उपस्थित हुने सहभागीमध्येबाट एक जनालाई बेष्ट ड्रेस अवार्ड, बेस्ट सहभागिता अवार्ड, बेस्ट भोलेन्टियर अवार्ड लगायत विविध विधामा सम्मान गरिनेछ ।
नेपालगञ्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यवसायिक घराना केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ । त्यसैगरी इन एसोसियसन अफ पार्टनरमा केएल दुगड ग्रुपकै ज्ञान खाद्यान्न र शिखर प्लाई तथा पावर्ड बाइ पार्टनरमा सगरमाथा सिमेन्ट र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । हस्पिटालिटी पार्टनरमा होटल सोल्टी वेष्टेन्ड प्रिमियर, इएसपी पार्टनर भायोनेट, इन्टरटेन्मेन्ट पार्टनरमा मेरो प्लानेट, मेडिकल पार्टनरमा वेष्टर्न हस्पिटल, अफिसियल लाइभ पार्टनर हाम्रो खेलकुद डट कम, प्रिन्ट मिडिया पार्टनर दैनिक नेपालगञ्ज, सोसल मिडिया पार्टनरमा नेपालगञ्ज ग्यालरी र कोहलपुर ग्यालरी, रहेका छन् । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका संरक्षक छन् भने राष्ट्रिय खेलकुद परिषद, लुम्बिनी प्रदेश खेलकुद परिषद मुख्य प्रवद्र्धक रहेका छन् । त्यस्तै नेपाल पर्यटन बोर्ड समेत प्रवद्र्धक रहेको छ । जिल्लास्थित गाउँपालिकाहरु समेत प्रवद्र्धकका रुपमा रहनेछन् ।
नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की, सातौंमा एपीएफकै किरणसिंह बोगटी र आठौंमा सेनाकै खडकबहादुर खड्का विजेता बनेका थिए भने महिला हाफ म्याराथनतर्फ सातौं र आठौं संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन । त्यसैगरी पहिलो एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैठौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु र सन्तोषी श्रेष्ठ हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here