२७ कात्तिक, नेपलगन्ज । आम खेलकुद्प्रेमीको साथ, सहयोग र शुभेच्छाले धारा नेपालगन्ज म्याराथन एउटा स्थापित राष्ट्रियस्तरको म्याराथन बन्दै गइरहेको छ । नेपालगन्ज म्याराथनले पश्चिम नेपालको खेल–पर्यटनको प्रबद्र्धनसमेत गरिरहेको छ । यसलाई अझ भव्य र एउटा उत्सवका रुपमा अघि बढाउन यस वर्षदेखि म्याराथनसँगै नेपालगन्ज कन्क्लेभ समेत आयोजना गर्न लागेको जानकारी गराउन पाउँदा हामी खुशी छौ ।

नेपालगन्ज कन्क्लेभलाई हामीले नेपालगन्ज साहित्य उत्सव–२०७३ को अर्को स्वरुपको शंखलाका रुपमा अघि बढाउने निर्णय गरेका छौं । नेपालगन्ज कन्क्लेभलाई हामीले म्याराथनको बौद्धिक वार्मअप ठानेका छौं । जहाँ खेलकुद् मात्र नभई समाज, अर्थ–राजनीति, साहित्य र सम्भावनाको विचार विमर्श हुनेछ ।
यसवर्षको नेपालगन्ज कन्क्लेभ नवौं धारा नेपालगन्ज म्याराथनको अघिल्लो दिन ८ मंसिर २०८० मा आयोजना हुनेछ । ९ मंसिरमा म्याराथनको नवौं संस्करण हुनेछ ।

नेपालगन्ज कन्क्लेभ २०२३ मा उद्यमशीलता, खेलकुद्, महिला सशक्तिकरण, साहित्य, युवा रोजगारलगायत विविध विषयका ६ वटा सत्र हुनेछन् । कन्क्लेभमा अभिनेता राजेश हमालसँग समाज, सिनेमा र साहित्यबारे विशेष संवादसमेत हुनेछ ।

क्रियटिभ ह्याण्ड्स आयोजक रहेको कन्क्लेभमा नेपाली युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरले सहआयोजकका रुपमा सहकार्य गरेको छ । सोमवार नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी र नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरका अध्यक्ष डा. नितेश कनोडियाबीच कनक्लेभ आयोजनामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता गरिएको छ ।
क्रियटिभ बुक्स महत्वपूर्ण साझेदारका रुपमा छ भने कार्यक्रमको व्यवस्थापन क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले गर्नेछ । कान्तिपुर टेलिभिजन, शिलापत्र अनलाइन, जी नेपाल एचडी टिभी, हाम्रो खेलकुद् डटकम र दैनिक नेपालगन्ज मिडिया पार्टनरका रुपमा रहेका छन् । नेपालगन्ज कन्क्लेभका अन्य साझेदारहरु छिट्टै सार्वजनिक गरिनेछ ।

विचार मन्थनको थलो नेपालगन्ज कन्क्लेभलाई सफल पार्न खेलकुद्प्रेमी, समाजका प्रबुद्ध व्यक्ति, शिक्षक–विद्यार्थी, उद्योगपति, साहित्यकार तथा असल पाठकहरु, पत्रकारहरु र सम्पूर्ण बाँकेबासीको विगतमा झै महत्वपूर्ण योगदान रहनेमा हामी विश्वस्त छौ । फेरि पनि विचार विमर्शले नयाँ दृष्टिकोण जन्माउँछ । अनि, वर्तमानको बस्तुनिष्ट समीक्षा गर्न सघाउँछ । त्यसैले पनि नेपालगन्ज कन्क्लेभले पश्चिम नेपालमा बहसको नयाँ अध्याय अघि बढाउनेछ भन्नेमा हामी आशावादी छौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here