२९ असार, नेपालगञ्ज । विभिन्न कार्यक्रमको आयोजना गरि आज २१०औं भानुजयन्ती मनाइँदैछ ।
विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुम्दी रम्घा भन्ने ठाउँमा आदिकवि भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो ।
ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको थियो । अहिलेको नेपाली भाषालाई उति बेला “खस“ भाषा भनिन्थ्यो र यो भाषा लिपिबद्ध भन्दा पनि सामान्य अभिव्यक्तिहरूमा मात्र सीमित थियो । १५ औँ शताब्दीमा “खस“ राजाहरूको पराजयसँगै “खस“ भाषा पनि ओझेलमा परेको थियो ।
नेपाली भाषाका प्रथम कवि यिनै भानुभक्त हुन् जसले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिव्यक्त गरेका हुन् । त्यसैले पनि भानुभक्तलाई आदिकवि भनिन्छ । उति बेला कविताहरू र औपचारिक साहित्यहरू संस्कृत भाषामा हुने गर्दथे, यसर्थमा संस्कृत भाषा बुझ्न र बुझाउन सक्ने ब्राह्मणहरूको आवश्यकता र महत्व धेरै थियो । सामान्य जनमानसले चाहेर पनि सरल अर्थमा आफै साहित्य र कलात्मक अभिव्यक्ति बुझ्न गाह्रो थियो ।
भानुभक्तले उति बेला सम्पूर्ण रामायणलाई नै संस्कृतबाट सरल नेपालीमा लिपिबद्ध गरिदिए, अचम्मको कुरा त के छ भने अनुवाद गरिए तापनि नेपाली संस्करणको रामायण अलौकीकरुपमै छन्द र भावको दोभान जस्तो छ ।
अझ फराकिलो हिसाबले सोच्ने हो भने त भानुभक्तले अध्ययन र ज्ञानलाई भाषामार्फत सरलीकृत गरेर सबै नेपालीहरूको सरल पहुँचमा विस्तार गरेका हुन् भन्न सकिन्छ । आफ्नो समाज र परिवेशबाटै भानुभक्तले सिकेका हुन् तसर्थ यिनको रचनामा समाज र व्यवहारिकताको संगम पाइन्छ ।
२१०औं भानुजयन्तीको अवसरमा काठमाडौंमा प्रभातफेरीको आयोजना गरिएको छ ।
प्रज्ञा प्रतिष्ठानको परिसर कमलादीबाट सुरू भएको प्रभातफेरी दरबार हाईस्कुलसम्म पुगेर पुनः प्रतिष्ठानको परिसरमा आएको थियो ।
प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रभातफेरीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, विभिन्न स्कुलका विद्यार्थी लगायत सहभागी थिए ।
विद्यार्थीहरु भानुभक्तले लगाउने जस्तै पोशाक लगाएर प्रभातफेरीमा सहभागी भएका थिए । केही विद्यार्थीहरु भानुभक्तले नेपालीमा अनुवाद गरेको रामायण कथाका पात्रहरु जस्तै बनेका थिए ।
कार्यक्रममा सहभागीहरुले भानुभक्तको सालिकमा माल्यार्पण गर्दै भानुभक्तका योगदानहरुको चर्चा गरेका छन् ।
यसबीच राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य राष्ट्रिय एकताको प्रतीक भएको बताएका छन् ।
२१० औं भानु जयन्तीको अवसरमा एक सन्देश सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य र सँस्कृतिको संवर्द्धनका निम्ति भानुभक्तको योगलान अतुलनीय भएको स्मरण पनि गरेका छन् ।
राष्ट्रपतिको सन्देशमा लेखिएको छ, ‘भानुभक्तले नेपाली भाषालाई काव्यभाषाका रुपमा समन्नुत तुल्याएका छन् । उनका कविताको प्रसारसँगै नेपालको बहुभाषिक र बहुसाँस्कृतिक समाजमा राष्ट्रिय एकताको भावना सुदृढ हुँदै गएको छ ।
आदिकवि भानभुक्तले सरल र रोचक ढंगले नेपालीमा नेपालीमा लेखेको रामायण सबै नेपालीले सरल ढंगले पढ्न सक्ने हुँदा यसबाट हिमाल, पहाड र तराईका जनताबीच भावनात्मक एकता अभिवृद्धि भएको राष्ट्रपति पौडेलको भनाइ छ ।
‘भानुभक्तीय रामायण नेपालीलाई एकताको सूत्रमा बाँध्ने एउटा महत्वपूर्ण रचना हो,’ राष्ट्रपतिको सन्देशमा लेखिएको छ, ‘यस रचनाको माध्यमले देशलाई पृथ्वीनारायण शाहले प्रशासनिक रुपले गराएको एकतालाई भावनात्मक एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेलेको छ । त्यसकारण भानुभक्त नेपाली राष्ट्रिय एकताको प्रतीक पनि हुन् ।’
भानुजयन्तीको अवसरमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा राष्ट्रपति पौडेलले शुभकामनासमेत दिएका छन् । साथै नेपाली भाषाको समुन्नयनबाट अन्य मातृभाषाको संवर्द्धनमा टेवा पुग्ने भन्दै राष्ट्रपति पौडेलले सबै भाषाभाषी समुदायमाझ सिर्जनाको महत्व बुझेर आ–आफ्नो भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन आह्वान पनि गरेका छन् ।
राष्ट्रपति पौडेलले भानुको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गर्न सकेमा उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।