१४ असार, नेपालगञ्ज । इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो महान पर्व ईद–उल–अजहा ‘बकरीद’ आज हर्षाेल्लासपूर्वक मनाइँदैछ ।
बकरीदको नमाज पढेपछि एक अर्कालाई अंकमाल गरि शुभकामना साटासाट गर्ने परम्परा रहेको छ । यस पर्वमा ईदगाह नजिक आउने गरिब गुरुवाहरुलाई दान दिने गरिएको छ । साथै नमाज पढिसकेपछि साथीभाई, इष्ट–मित्रहरुलाई शुभकामना दिइ मिठो परिकार खुवाउने गरिन्छ ।
बकरीदको नमाज नेपालगञ्ज वीपी चोकस्थित ईदगाहमा आज बिहान ७ः३० बजे सम्पन्न भएको छ । उक्त नमाजपछि देश र जनताको सुख, शान्ति, समृद्धि तथा समुन्नतिका लागि सामुहिक प्रार्थना गरिएको थियो ।
नमाजपछि त्यहाँ उपस्थित सबैले एक अर्कालाई अंकमाल गर्दै शुभकामना आदान प्रदान गरेका थिए ।
बकरीदको शुभकामना साटासाट गर्न विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु ईदगाहमा पुगेका थिए ।
त्याग र बलिदानको शास्वत सन्देश दिने यो पर्व ३ दिनसम्म लगातार मनाइने गरिन्छ । यस पर्वमा भेडा, बाख्रा, रा“गा, ऊ“ट आदिको कुरबानी दिने गरिन्छ । कुर्बानी गराएको मासु तीन भाग गरी एक भाग गरिबमा बाँड्ने, एक भाग छर–छिमेकमा बाँड्ने र एक भाग घरमा पकाएर आफु र आफन्तलाई खुवाउने प्रचलन रहेको छ ।
मान्यता अनुसार, एकदिन अल्लाहले हजरत इब्राहिमलाई सपनामा उनको सबैभन्दा प्रिय बस्तुको कुर्बानी मागे । हजरत इब्राहिमलाई सबैभन्दा प्रिय उनको छोरा थिए उनले आफ्नो छोराको कुर्बानी दिने निर्णय गरे । निर्णयअनुसार हजरत इब्राहिमले आफ्नो छोरा बलि दिन उसको घाँटीमा प्रहार गरे । त्यसै समय अल्लाहले चक्कूको प्रहारबाट हजरत इब्राहिमको छोरालाई बचाएर एउटा खसी कुर्बानी दिलाए । त्यसपश्चात कुर्बानीका रूपमा खसी कुर्बानी दिने गरिएको हो । धार्मिक मान्यताअनुसार उनकै पालामा खसीको कुर्बानीको शुरुआत भएको मानिन्छ ।
यसबीच ईद–उल–अजहा ‘बकरीद’ पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले ईद–उल–अजहा ‘बकरीद’ पर्वले सबै नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गरेका छन् ।
सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको मुलुकमा ईद–उल–अजहा ‘बकरीद’ पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।
यस्तै, उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि शुभकामना दिंदै यो पर्वलाई शान्ति तथा व्यवस्थित विकासका लागि प्रतिज्ञा र प्रतिबद्धता व्यक्त गर्ने सु–अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।
यस्ता पर्वहरुले विभिन्न जातजाति, सम्प्रदाय, वर्ग, समुदाय तथा समाजको मौलिक संस्कृति र रहनसहनलाई सम्वर्द्धन र संरक्षण गर्दै जातीय, धार्मिक एवं सांस्कृतिक विविधतालाई आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धिमा टेवा पुग्ने उनको भनाइ छ ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताएका छन् ।
इस्लाम धर्मावलम्बीको महान् पर्व बकर ईद–उल–अजहा ‘बकरीद’ २०८० को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम समुदायलगायत समस्त नेपालीहरूमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको नेपाल धर्म निरपेक्ष राज्य भएको उल्लेख गरे ।
बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् भन्दै प्रधानमन्त्री प्रचण्डले यस्ता विविधतायुक्त विशेषता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएको बताए ।
‘सामाजिक सद्भाव र पारिवारिक मिलनको रूपमा मनाइने ईद–उल–अजहा बकरीद पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने विश्वास लिएको छु । प्रेम र सद्भाव आदानप्रदान गर्ने यस पर्वले आम मुस्लिम समुदाय र नेपालीहरूमा स्वतन्त्रता र समृद्धिको मार्गमा अगाडि बढ्न अभिप्रेरित गर्ने विश्वाससहित फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु’, सन्देशमा भनिएको छ ।
पर्वको अवसरमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका प्रमुखलगायत उच्चपदस्त व्यक्तिहरूले पनि शुभकामना व्यक्त गरेका छन् ।
ईद–उल–अजहा ‘बकरीद’ पर्वको अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here