६ असार, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा बुधवार गाउँपालिका स्तरीय स्वयंसेवी रक्तदाता समाज उप–शाखा गठन गरिएको छ ।
‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ देरभर क्रियाशील समाजको उप–शाखा राप्ती सोनारीमा गठन गरिएको हो ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ६ मा बुधवार भएको स्थानीयबासीको भेलाले दिव्या गुरुङको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति गठन गरिएको छ । उक्त समितिको उपाध्यक्षमा अमृता के.सी., सचिवमा सुकराम थारु र कोषाध्यक्षमा सुशीला थारु रहेका छन् ।
यस्तै सदस्यहरुमा मुकुन्द पाण्डे, केशराम थारु, कृष्ण थारु, वीर बहादुर पुन, राम प्रसाद थारु, विफराम थारु र पतिराम थारु रहेका छन् ।
त्यसैगरि सल्लाहकारहरुमा राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष लवराज खरेल, वडा सदस्यहरु पतरी परियार, लक्ष्मी थारु, राम बहादुर थारु र सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मदन बहादुर बुढा रहेका न् ।
विगत १८ वर्षदेखि त्रैमासिक रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जनमत अद्र्धसाप्ताहिकको त्रैमासिक रक्तदान कार्यक्रममा सहभागी स्वयंसेवी रक्तदाता र पालिकामा आयोजित रक्तदान कार्यक्रममा स्वःस्फूर्त रुपमा रक्तदान गर्दै आएका युवायुवती रक्तदाताहरुको भेलाले ११ सदस्यीय उपशाखा गठन गरेको हो ।
समाजका जिल्ला अध्यक्ष दिला शाहले रक्तदान अभियानलाई वृहद् र नियमित बनाउन विभिन्न कार्य शुरु गरिएको बताइन् । रक्तदान सबभन्दा ठुलो मानवीय सेवा र दान हो भन्दै अध्यक्ष शाहले भनिन्, ‘ईच्छा शक्ति मात्र भयो भने सामाजिक कार्य गर्न कसैले पनि योगदान पु¥याउन सक्छ ।’
समाजका सल्लाहकार पूर्ण लाल चुके र वडा अध्यक्ष लवराज खरेलले हामी कसैको एक पिन्ट रगतले कसैको ज्यान बच्छ र नयाँ जीवन पाउँछ भने रक्तदानको यो महान अभियानमा सबैले हातेमालो गर्नु पर्छ भन्दै हरेक तीन महिनामा शरीरमा नयाँ रक्त कोशिका तयार हुने हुँदा हरेक तीन महिनामा रक्तदान गरेमा स्वास्थ्यमा कुनै नकारात्मक असर नपर्ने बताए ।
स्मरणीय छ, वडा अध्यक्ष लवराज खरेलले ५१ पटक रत्तदान गरिसकेका छन् ।
कोषाध्यक्ष मनमोहन वर्माले सञ्चालन गरेको उक्त भेलामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई समाजका अध्यक्ष दिला शाह र वडा अध्यक्ष लवराज खरेलले अबिर लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
वडा अध्यक्ष लवराज खरेल र समाजका सदस्य होमराज गिरीको समन्वय र सक्रियतामा सम्पन्न उक्त भेलाको समापनमा समाजका जिल्ला अध्यक्ष शाहले नवनिर्वाचित अध्यक्ष दिव्या गुरुङलाई रगत स्मारिका र कोषाध्यक्ष मनमोहन वर्माले सचिव सुकराम थारु र कोषाध्यक्ष सुशीला थारुलाई माइन्यूट बूक र आजीवन सदस्यताको दरखास्त फाराम हस्तान्तरण गरेकी थिइन् ।
यसअघि खजुरा गाउँपालिका र जानकारी गाउँपालिकामा पालिका स्तरीय उपशाखा गठन भइसकेको छ भने बाँकेका अन्य गाउँपालिकामा उपशाखा गठन गर्ने योजना रहेको समाजका सल्लाहकार पवन जायसवालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here