६ असार, नेपालगञ्ज । विभिन्न कार्यक्रमको आयोजन गरी बुधवार अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।
संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ देखि जुन २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
नेपालले भने यस अघिदेखि नै योग दिवस मनाउने गरेको थियो । २०३६ सालको माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर नेपालमा योग दिवस मनाउन थालिएको थियो । माघ १ गते मनाउने गरिएको योग दिवस जुन २१ तारिखमा सारेपछि अभियानकर्मीले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न माग गरेका थिए ।
त्यसपछि सरकारले २०७२ साल साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा ६ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । नियममा रहेर योग गरे विभिन्न स्वास्थ्य समस्या कम हुँदै जाने योग गुरुहरुले बताउँदै आएका छन् ।
दिवसको अवसरमा कोहलपुर नगरपालिकाले बुधवार बिहान प्रभातफेरी एवम् योग जागरण ¥याली निकालेको छ ।
यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योग र ध्यानको विषय पाठ्यक्रममा समावेश गर्ने उद्देश्य सरकारले राखेको बताएका छन् ।
यो विषय प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्ने उद्देश्य रहेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योग र ध्यानको महत्व, परम्परा र विरासतलाई आत्मसाथ गरेर नै सरकारले यस्तो उद्देश्य राखेको जानकारी गराए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्व विद्यालयसम्म पाठ्य– क्रममा समावेश गर्ने कुरा गरिएको छ । मलाई विश्वास छ, नेपाल सरकारको यो निर्णयले योग आध्यात्मिक चिन्तनको महत्वलाई स्थापित गर्न गुणात्मक र दीर्घकालीन भूमिका खेल्नेछ ।’
प्रधानमन्त्री प्रचण्डले योग नेपालको अमूल्य सम्पत्ति भएको समेत बताए । ‘यहाँका पुराना शहर र भवनको निर्माणमा पनि योगको ज्ञान, विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग भएको देखिन्छ । मठ, मन्दिर, मूर्तिकलामा होस् वा चित्रकला, थांका होस् वा सबैतिर योगको जबरजस्त प्रभाव देखिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ढुंगेधारा, कुवा, इनार र राजकुलाका निर्माणमा पनि योग र तन्त्रको ज्ञानलाई प्रयोग गरेको हामी सबैले देख्न सक्दछौँ । त्यसैले योग नेपालकै अमूल्य सम्पत्ति पनि हो ।’
योग अभ्यासका लागि नेपाल सुन्दर भूमि रहेको बताउँदै उनले विश्वभरका अध्येताहरुका लागि नेपाल मूल गन्तव्य बन्नसक्ने प्रचुर सम्भावना रहेको बताए ।