२५ जेठ, नेपालगन्ज । खजुरा बजारमा बिहीवार सम्पन्न स्वयम्सेवी रक्तदाताहरुको भेलाले नेपाल स्वयम्सेवी रक्तदाता समाज गठन गरेको छ ।
भेलाले खजुरा गाउँपालिका स्तरीय नेपाल स्वयम्सेवी रक्तदाता समाज खजुरा उपशाखा सर्वसम्मत चयन गरेको हो ।
नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँकेकी अध्यक्ष दिला शाहको विशेष उपस्थितिमा भएको भेलामा समाजका सल्लाहकार पूर्णलाल चुकेले २०६२।०६३ सालमा काठमाडौंमा दर्ता गरिएको नेपाल स्वयम्सेवी रक्तदाता समाजको परिचय, पृष्ठभूमि र मानव जीवनमा रगतको महत्वका बारेमा प्रकाश पार्दै रक्तदान जस्तो सबभन्दा ठुलो मानवीय अभियानलाई गाउँपालिका स्तरमा फैलाउनका लागि स्थानीय युवा र रक्तदाताहरुले जागरुक हुनु पर्ने कुरामा जोड दिए ।
सो अवसरमा नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँकेकी अध्यक्ष दिला शाहले यो उत्कृष्ठ मानव सेवाका लागि सबै रक्तदाताहरुलाई समाजसंग जोडिएर हातेमालो गरेर यो महान अभियानमा सहभागी हुन आव्हान गरिन् ।
अध्यक्ष शाहले हाम्रो एक पिन्ट रगतले रगत नपाएर छट्पटिएका कुनै एक विरामीले नयाँ जीवन पाउँछ भने हामीले आफ्नो शरीरबाट खेर गइरहेको रगत दिन अरुलाई पनि उत्प्रेरित गर्न सबैलाई अनुरोध गरिन् ।
भेलाले व्यापक छलफल पछि स्थानीय युवा स्वयम्सेवी रक्तदाता विकास काउचा मगरको अध्यक्षतामा गठन भएको उक्त खजुरा गाउँपालिका स्तरीय नेपाल स्वयम्सेवी रक्तदाता समाज खजुरा उपशाखा समितिको उपाध्यक्षमा अरुणा गुरुङ, सचिवमा गौरव सापकोटा, कोषाध्यक्षमा विश्वास कक्षपति रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा सूर्य प्रसाद नेपाली, सुजाता खरेल, बसन्त भण्डारी, जीवन यादव, रविना खड्का, अस्मिता ओली र विजय के.सी. रहेका छन् । भेलाले सल्लाहकारमा अमित लामा र सुभाष निरौलालाई चयन गरेको छ ।
भेलामा सहभागीहरु यही जेठ ३१ ग्ते विश्व रक्तदाता दिवसका अवसरमा नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँकेले नेपालगन्जमा आयोजना गर्ने वृहद् रक्तदान कार्यक्रममा सहभागी हुने प्रतिवद्धता जनाएका थिए ।
भेलामा नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँकेका कोषाध्यक्ष मनमोहन वर्मा, समाजका सदस्य होमराज गिरी लगायत करीब तीन दर्जन रक्तदाताहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here