२० वैशाख, नेपालगञ्ज । पूर्व राजा ज्ञानेन्द्र शाहलाई बुधवार नेपालगञ्जमा भव्य नागरिक अभिनन्दन गरिएको छ ।
नेपालगञ्जको रामलिला मैदानमा बुधवार दिउँसो ३ बजे राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभाका सांसद डा. धवलशमशेर राणाको अगुवाइमा आयोजित समारोहमा राजावादीहरूले पूर्व राजा ज्ञानेन्द्र शाहलाई अभिनन्दन गरेका हुन् ।
सो समारोहमा पूर्व राजाका परिवार सदस्यको पनि उपस्थिति रहेको थियो ।
सो अवसरमा बोल्दै पूर्व राजा ज्ञानेन्द्र शाहले अब देशको पुरानो गौरव फर्काउने समय आएको बताउँदै उनले हामी सबै नेपाली मिलेर राष्ट्रको पुरानो गौरव फर्काउन आव्हान गरेका थिए ।
नागरिक अभिनन्दन समारोहमा विभिन्न राजावादी संघ–संस्थाहरुका तर्फबाट पूर्व राजा ज्ञानेन्द्र शाहलाई अभिनन्दन पत्र बुझाइएको थियो ।
सो अवसरमा त्यहाँ उपस्थित सर्वसाधारणहरुले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ लगायतका नारा लगाएका थिए ।
यसअघि नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको महाआरतीमा पूर्वराजा ज्ञानेन्द्र सोमबार परिवारका सदस्य सहित सहभागी भएका थिए । गत शुक्रवार नेपालगञ्ज आइ पुगेका पूर्वराजा शाह एक महिना नेपालगञ्ज बस्ने कार्यतालिका रहेको छ । पूर्वराजाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्दैछन् ।
पूर्वराजाको नेपालगञ्जमा हुने नागरिक अभिनन्दनका लागि ५ हजार १ सदस्यीय मूल समिति र १४ वटा उपसमिति बनाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here