२५ फागुन, नेपालगञ्ज । ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बाँकेको नरैनापुर गाँउपालिकामा विविध कार्यक्रम गरी बुधबार मनाइएको छ ।
नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ नरैनापुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले, महिलाहरुका लागि ८ मार्च चाड–पर्वको रुपमा रहेको बताए । महिला दिवसकै दिन महिलाहरुले मुक्तिका लागि आन्दोलन सुरु गरेको स्मरण गराउँदै अध्यक्ष शाहले महिला नेतृत्वको पनि व्यापकरुपमा वृद्धि हुँदै गएको जिकिर गरेका थिए । सांस्कृतिक तथा परम्परावादी सोचअनुरुप समाज पितृसत्तात्मक तथा पुरुषप्रधान भएकै कारण महिलाहरुमाथि शोषण भइरहेको उनको भनाई थियो ।
अध्यक्ष शाहले विस्तारै–विस्तारै पितृसत्तात्मक तथा पुरुषप्रधान सोचमा सुधार हुँदै गएको अवस्थामा हरेक महिलाहरुले आफू कसरी समृद्ध हुने भन्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । हरेक महिलाले आफूसँग भएको ज्ञान, सीप र क्षमतलाई उजागर गर्दै श्रीमान तथा परिवारमाथि निर्भरता कम गराउँदै गएमा महिलाको स्थिति सुधार हुने उनको भनाई थियो । नरैनापुर गाँउपालिका महिलाहरुको हक, अधिकारप्रति संविधानले दिएको अधिकारको रक्षामा प्रतिबद्ध रहेको बताए ।
परिवर्तन महिला सहकारी संस्थाका अध्यक्ष सुनिता खाँडले सांस्कृतिक, राजनैतिक , सामाजिक आर्थिक अधिकार महिलाहरुले प्राप्त गरेको सन्दर्भमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिए पनि कानुनतः पैतृक सम्पत्तिमा समान अधिकार तथा सामाजिक आर्थिक र व्यवहारिक रुपमा समानता प्राप्त हुँदा मात्र लैंगिक समानता कायम हुने बताए ।
सहकारीका अध्यक्ष खाँडले प्रत्येक दिनलाई महिला दिवसको रुपमा मनाउन सुझाव दिँदै हिजो हाम्रा आमा, हजुरआमाहरुले कसरि जीवन व्यतित गर्नु भएको थियो, आज हामी कुन अवस्थामा छौं र भावी पुस्तालाई भेदभावमुक्त समाज हस्तान्तरण गर्न के गर्नु पर्छ भन्ने बारेमा सचेत हुन आग्रह गर्दै महिला दिवसको अवसरमा सबै दिदी बहिनीहरुलाई शुभ कामना दिएका थिए ।
नरैनापुरको महिला बालबालिका शाखा प्रमुख कृष्णचन्द्रले अन्तर्राष्ट्रिय महिला दिवस सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा महिलाहरुले प्राप्त गरेका उपलब्धिहरु पहिचान गर्ने तथा गर्व गर्ने अवसर भएको बताएका थिए ।
नरैनापुर गाउँपालिका वडा नं. ६ का महिला वडा सदस्य रिहाना मुकेरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह, अतिथिहरुमा परिवर्तन सहकारी संस्थाका अध्यक्ष सुनिता खाँड, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, महिला बालबालिका शाखा प्रमुख कृषचन्द्र, सशस्त्र प्रहरी निरिक्षक नन्दकिशोर महतो, बरिष्ट प्रहरी नयाब निरिक्षक पुष्पराज जोशी लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन पम्फा परियारद्वारा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here