११ फागुन, नेपालगञ्ज । नेपालगञ्जका मुस्लिम धर्मगुरु र अगुवाहरुले हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियानलाई सफल बनाउने प्रतिवद्धता जनाएका छन् ।
स्वास्थ्य कार्यालय बाँके, नेपालगञ्ज उपमहानगरपालिका र बाँके युनेस्को क्लबको समन्वय र सहकार्यमा बुधवार यहाँ मुस्लिम धर्मगुरु र मौलानाहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।
बाँकेमा धेरै पटक हात्तीपाइले नियन्त्रण अभियान सञ्चालन गरिएपनि नेपालगञ्जकै मुस्लिम र मधेशी समुदायले हात्तीपाइलेको औषधी खान नमान्दा सो अभियान असफल हुँदै आएको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयद्धारा हात्तीपाइले रोगको अवस्था र औषधीको महत्व बारे गराईएको जानकारी पश्चात विभिन्न मस्जिद, मदरसा र अन्य धार्मिकस्थलमा कार्यरत सहभागि मौलाना, हाफिज र कारी लगायतका धर्मगुरुहरुले औषधी सेवन अभियानलाई सफल बनाउने प्रतिवद्धता जनाएका थिए ।
सो कार्यक्रममा सहभागि मौलानाहरुले विहिबारदेखि शुरु हुने हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियानलाई सफल पार्न सबैलाई औषधी खान आग्रह पनि गरेका थिए ।
सोही अवसरमा स्वास्थ्य कार्यालयका कर्मचारी र मौलानाहरुले हात्तीपाइले रोग विरुद्धको औषधी पनि सेवन गर्नु भएको थियो ।
सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनिता पौडेलले नेपालगञ्जको मुस्लिम समुदायमा हात्तीपाइलेको औषधी खाँदा प्रतिकुल असर गर्छ भन्ने भ्रम फैलिएकोले सो चिर्न आवश्यक रहेकोले यो कार्यक्रम गरिएको बताउनुभयो । उहाँले धार्मिक गुरुहरुको सहयोगले यस पटक अभियान पुर्ण रुपमा सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, हात्तीपाइले रोग अभियानका फोकल पर्सन दुर्गा गौतम, बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी लगायतले अभियान बारे जानकारी गराउनुका साथै सफल पार्न आग्रह गर्नुभएको थियो ।
सो अवसरमा विश्व स्वास्थ्य संगठनका डा. वन्दना पाण्डे, बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, स्वास्थ्य कार्यालयका मान बहादुर नेपाली, केशव ज्ञवाली, तेज ओली, सुन्दर विसी र मानस्वी बासकोटा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मदिना मस्जिदका प्रमुख मौलाना नसिरुद्दिन अन्सारी, गौसिया मस्जिदका प्रमुख मौलाना जमाल, जैसपुरका मौलाना समिउल्ला, हाफिज साकिर, कारी अब्दुल कैयुम, मेराज अहमद कादरी, अमिर रजा कादरी लगायत दुई दर्जन बढी धर्मगुरुहरुको सहभागिता रहेको थियो । बाँकेमा बिहिबारदेखि १३ औं पटक शुरु गरिने सो अभियानका लागि यस पटक स्वास्थ्य कार्यालयले धेरै अभिमुखिकरणहरु गरेकोले सफल हुने विश्वास उत्पन्न भएको फोकल पर्सन दुर्गा गौतमले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here