नेपालगञ्ज, पुस १४ । नेपालगञ्जको ल्याण्डफिल साइटमा कार्यरत सरसफाईकर्मीको सुरक्षालाई ध्यानमा राखेर भेरी वातावरणीय समुह बी ग्रुपले उनिहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकासंगको समन्वयमा बि ग्रुपले नेपालगञ्ज २३ हिरमिनियास्थित ल्याण्डफिल साइटमै पुगेर ४० जना सरसफाईकर्मीलाई पीपीई सेट वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ । नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, बि ग्रुपका अध्यक्ष टेक बहादुर पुन, नेपालगञ्ज उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वातावरण तथा विपत समितिका संयोजक तथा वडा अध्यक्ष समिर प्रताप सिंह, वडा नम्बर २३ का वडा अध्यक्ष जब्बर अलि बेहना र वातावरण ईन्जिनियर प्रकाश डिसीले पिपिई सेट सरसफाईकर्मीलाई वितरण गर्नुभयो । सो वितरण कार्यक्रम जीआइजेड नेपाल र एमडीएम फ्रान्सको साझेदारीमा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत गरिएको थियो । सो अवसरमा बोल्दै नेपालगञ्जका मेयर विष्टले सरसफाईकर्मीको सुरक्षाका लागि यो व्यक्तिगत सुरक्षा सामाग्री निकै महत्वपुर्ण र आवशयक भएकोले यो वितरण गरेर निकै उत्कृष्ट काम गरिएको बताउनुभयो । उहाँले सरसफाईकर्मीले यसको सदुपयोगमा विशेष ध्यान दिनु पर्ने कुरामा जोड दिंदै जति यसको सदुपयोग गर्न सकिन्छ त्यतिनै आफुलाई सुरक्षित र स्वस्थ्य राख्न सकिन्छ भन्ने कुरा कहिले पनि नविर्सन आग्रह गर्नुभयो । सो अवसरमा बोल्दै बि ग्रुपका अध्यक्ष पुनले सरसफाईकर्मी, किसान तथा कवाड संकलकहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर यो परियोजना सञ्चालन गरिएको जनाउँदै यसबाट हुने लाभ र फाइदा देखिन थालेको बताउनुभयो । उहाँले यसले लाभग्राहीमा एक प्रकारको सुरक्षा अनूभूति गरेको बताउनुभयो । उक्त अवसरमा विपत समितिका संयोजक सिंह, वडा नम्बर २३ का वडा अध्यक्ष बेहना, वातावरण ईन्जिनियर डिसी, एमडीएम फ्रान्सका कार्यक्रम अधिकृत गणेश कार्की लगायतले पिपिईले सरसफाईकर्मीलाई सम्भावित जोखिमबाट जोगाउने र सुरक्षा प्रदान गर्ने हुँदा यसको अधिकतम सदुपयोगमा जोड दिनुभयो । वितरण गरिएको पिपिई सेटमा गमबुट एक जोडी, एप्रोन १ पिस, ज्याकेट १ पिस, टाउजर १ पिस, तौलिया १ पिस, प्याकिंग झोला १ पिस, क्याप १ पिस, मास्क ३ डिब्बा, स्यानिटाइजर ६ बोतल, भिजिविलिटी ज्याकेट १ पिस, रबर पन्जा २ जोडी, नाइटराल पन्जा २ जोडी, लुगा धुने साबुन ६ पिस र नुहाउने साबुन ६ पिस रहेका छन् । पिपिई सेट पाएपछि सरसफाईकर्मी निकै खुशी र उत्साहित देखिएका थिए । उनिहरु मध्ये अधिकांशले आफुलाई काम गर्दा आफ्नो सुरक्षाप्रति सबैभन्दा बढी चिन्ता हुने गरेको जनाउँदे यो सामाग्री पाएपछि अब सो चिन्ता हटेको प्रतिक्रिया दिएका थिए । बि ग्रुपले पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत बाल्मिकी समाज नेपाल बाँके र कवाड व्यवसायी संघको संस्थागत विकाससंगै उनिहरुको स्वास्थ्य सुरक्षाका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको छ । साथै किसानको सुरक्षाका लागि पनि विभिन्न कार्यहरु गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here