११ भाद्र, नेपालगञ्ज । घर–घरमा पवित्र कुश भित्र्याएर आज भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसी पर्व मनाइँदैछ ।
सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राह्मणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पु¥याउने गर्छन् ।
कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको स्वरूप मानी पूजाआजा गर्ने गर्छन् ।
कुशको पूजाआजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुशे औंसी भन्ने गरिएको हो ।
आजकै दिन छोराछोरीहरू आ–आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई बाबुको मुख हेर्ने दिन र पितृ दिवस समेत भनिन्छ ।
पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवंगत पिताका नाममा तर्पण, श्राद्ध र सिधा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ ।
यस्तै आज नेपाली साहित्य नक्षत्रका युगकवि मोतीराम भट्टको जन्म जयन्ती पनि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here