२९ असार, नेपालगञ्ज । विविध कार्यक्रमको आयोजन गरि २०९औं भानु जयन्ती बुधवार मनाइएको छ ।
बाँकेमा पनि २०९औं भानु जयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजन गरिएका छन् ।
नेपालगञ्ज न्यूरोड स्थिति भानुभक्त चोकमा २०९औं भानु जयन्ती समारोह सभ्य र भब्य तवरले मनाइएको छ ।
भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति एवं भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगञ्ज बाँकेको संयुक्त आयोजनामा भब्य र सभ्य रुपमा २०९ औं भानु जयन्ती समारोह बुधबार मनाइएको हो ।
नवनिर्मित भानुभक्तको प्रतिमालाई प्रमुख अतिथिमार्फत माल्यर्पण गरेर मनाइएको २०९औं भानु जयन्ती समारोहमा भानुभक्त आचार्यको जीवनबारे साहित्यकार हरि तिमिल्सिनाले प्रकाश पारेका थिए ।
कार्यक्रममा भानुभक्तचोक संरक्षण तथा व्यवस्थापन समितिका कृष्णप्रसाद श्रेष्ठ, वरिष्ठ साहित्यकार तथा लेखक सनत रेग्मी, साहित्यकार किरण कोइराला, खगेन्द्र गिरी ‘कोपिला’ समाजसेवी मधु सुदन शर्मा, नरेन्द्र पिटरलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा भानु चोक निर्माणमा सहयोग पु¥याए वापत विभिन्न सामाजिक अभियन्ताहरुलाई सम्मान गरिएको थियो ।
विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुँदी रम्घा भन्ने ठाउँमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको थियो ।
ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको थियो । अहिलेको नेपाली भाषालाई उति बेला “खस“ भाषा भनिन्थ्यो र यो भाषा लिपिबद्ध भन्दा पनि सामान्य अभिव्यक्तिहरूमा मात्र सीमित थियो । १५ औँ शताब्दीमा “खस“ राजाहरूको पराजयसँगै “खस“ भाषा पनि ओझेलमा परेको थियो । नेपाली भाषाका प्रथम कवि यिनै भानुभक्त हुन् जसले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिव्यक्त गरेको हुन् । त्यसैले पनि भानुभक्तलाई आदिकवि भनिन्छ । उति बेला कविताहरू र औपचारिक साहित्यहरू संस्कृत भाषामा हुने गर्दथे, यस अर्थमा संस्कृत भाषा बुझ्न र बुझाउन सक्ने ब्राह्मणहरूको आवश्यकता र महत्त्व धेरै थियो । सामान्य जनमानसले चाहेर पनि सरल अर्थमा आफैँ साहित्य र कलात्मक अभिव्यक्ति बुझ्न गाह्रो थियो ।
भानुभक्तले उति बेला सम्पूर्ण रामायणलाई नै संस्कृतबाट सरल नेपालीमा लिपिबद्ध गरिदिए, अचम्मको कुरा त के छ भने अनुवाद गरिए तापनि नेपाली संस्करणको रामायण अलौकीकरुपमै छन्द र भावको दोभान जस्तो छ । अझ फराकिलो हिसाबले सोच्ने हो भने त भानुभक्तले अध्ययन र ज्ञानलाई भाषामार्फत सरलीकृत गरेर सबै नेपालीहरूको सरल पहुँचमा विस्तार गरेका हुन् भन्न सकिन्छ आफ्नो समाज र परिवेशबाटै भानुभक्तले सिकेका हुन् तसर्थ यिनको रचनामा समाज र व्यबहारीक्ताको सङ्गम पाइन्छ ।
भानु बाजे अर्थात् भानुभक्तको सम्झनामा नेपाल, भारतको दार्जिलिङ लगायतका क्षेत्रहरू अनि नेपाली समाज भएका विश्वभरिकै देशहरूमा भानु जयन्ती मनाइन्छ । भानुभक्त कवि मात्र नभएर नेपाली भाषाका ढुकढुकी हुन् र हरेक नेपाली जिब्राहरूमा भानुभक्तको लय अझै जीवित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here