२६ असार, नेपालगञ्ज । इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो महान पर्व ईद–उल–अजहा ‘बकरीद’ आज देशभर हर्षाेल्लासपूर्वक मनाइँदैछ ।
बिहान साढे ७ बजे वीपी चोकस्थित ईदगाहमा ईद–उल–अजहा ‘बकरीद’को नमाज पढेर इस्लाम धर्मावलम्बीहरुले एक आपसमा शुभकामना आदान–प्रदान गरेका थिए ।
ईद–उल–अजहा ‘बकरीद’को नमाजपछि देश र जनताको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि प्रार्थना गरिएको थियो ।
त्याग र बलिदानको शास्वत सन्देश दिने यो पर्व ३ दिनसम्म लगातार मनाइने गरिन्छ । यस पर्वमा भेडा, बाख्रा, रा“गा, ऊँट आदिको कुरबानी दिने गरिन्छ । कुर्बानी गराएको मासु तीन भाग गरी एक भाग गरिबमा बाँड्ने, एक भाग छर–छिमेकमा बाँड्ने र एक भाग घरमा पकाएर आफु र आफन्तलाई खुवाउने प्रचलन रहेको छ ।
आजका दिन बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अंगालोमा बाँधिएर एक आपसमा शुभकामना आदान–प्रदान गर्ने गरिन्छ ।
यस पर्वमा ईदगाह नजिक आउने गरिब गुरुवाहरुलाई दान दिने गरिएको छ । साथै नमाज पढिसकेपछि साथीभाई, इष्ट–मित्रहरुलाई शुभकामना दिइ मिठो परिकार खुवाउने गरिन्छ ।
मान्यता अनुसार, एकदिन अल्लाहले हजरत इब्राहिमलाई सपनामा उनको सबैभन्दा प्रिय बस्तुको कुर्बानी मागे । हजरत इब्राहिमलाई सबैभन्दा प्रिय उनको छोरा थिए उनले आफ्नो छोराको कुर्बानी दिने निर्णय गरे ।
निर्णयअनुसार हजरत इब्राहिमले आफ्नो छोरा बलि दिन उसको घाँटीमा प्रहार गरे । त्यसै समय अल्लाहले चक्कूको प्रहारबाट हजरत इब्राहिमको छोरालाई बचाएर एउटा खसी कुर्बानी दिलाए ।
त्यसपश्चात कुर्बानीका रूपमा खसी कुर्बानी दिने गरिएको हो । धार्मिक मान्यताअनुसार उनकै पालामा खसीको कुर्बानीको शुरुआत भएको मानिन्छ ।
ईद–उल–अजहा ‘बकरीद’को अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदा दिएको छ ।
हरेक मुस्लिमहरूकालागि जीवनमा एकफेर साउदी अरबको मक्कामा हज तिर्थयात्रा गर्न जरुरी मानिन्छ जसकालागि एउटा निश्चित समय तय गरिएको हुन्छ ।
बकरीदकै दिनबाट मक्कामा जाने हज तिर्थयात्राको यस वर्षकालागि औपचारीक समापन भएको दिन पनि हो ।
बकरीदको दिन मुस्लिम समूदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा, मिठा परिकार तथा प्रार्थनाहरु एकापसमा साटासाट गर्दछन् ।
नेपाली मुस्लिम समूदायहरूले यो समय आफ्ना गैह्र मुस्लिम साथीभाईहरूलाई डाँकेर मुस्लिम विशेषताले भरिएका अनेक परिकार जस्तै खसिको मासु, बिरयानी तथा अन्य स्वादिष्ट मिठाइहरू खुवाउने र खुसियाली साँट्ने गर्दछन् ।
बहूभाषिक, बहूधार्मिक नेपाली समाज धार्मिक सहिष्णुतामा अनेक धर्मसंगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितिमा विश्वास गर्छ भन्ने कुराको पनि यो चाडले सन्देश दिन्छ ।
यस दिन सामूहिक आवश्यकतामाथि पनि मानिसहरूको ध्यान खिचिन्छ र हरेक व्यक्ति आफ्नो हैसियत अनुसार पूरा गर्न सङ्कल्प गर्छन । जुन बाटोबाट इदगाह आइएको हो त्यसैबाट नगई अर्को बाटोबाट घरतर्फ फर्किनु राम्रो मानिन्छ। यसो गर्नुको अभिप्राय बस्तीको कुनै अंश मानिसहरूको चहलपहल र अल्लाहको स्तूतिबाट खाली नहोस् भन्ने हो ।
हजरत मोहम्मदको स्वीकृतिले मनाउँदै आएको यस चाडमा गरीबहरु पनि सहभागी बन्न सकुन् भनेर धनी मानिसहरुले आफ्नो संचित धनको २.५ प्रतिशत हिस्सा गरिबहरुलाई दान गर्नु पर्ने नियम छ । अर्कोतर्फ अल्लाहको आफूप्रतिको माया र आशिषकालागि मुस्लिम धर्मावलम्बिहरूले जनावरहरुलाई कुरबान गर्ने चलन पनि छ । गरिएको कुर्वानीको तिन भाग लगाइन्छ जसमा पहिलो भाग इष्ट मित्र अनि छिमेकीलाई दिइन्छ, दोश्रो भाग गरिब र विपन्नहरुका लागि दिइन्छ भने तेश्रो भाग चाँही कुर्वानी गर्ने परिवारले आफूसँग राख्दछन् ।
बकरीदका दिन बिहान सबै मानिस घरहरूबाट निस्किन्छन जसले गर्दा मुसलमानहरूको एकता बाहुल्य र शानको प्रदर्शन होओस् । त्यसपछि अल्लाहसँग प्रार्थना गर्न सबै एकत्रित हुन्छन् ईदको नमाज मस्जिदबाट अलग्गै बस्तीबाट केही टाढा बाहिर खुला मैदानमा पढिन्छ ।
नमाजका लागि जाँदा सबै मुसलमान यो जप पढ्दै हिंड्छन “अल्लाहू अक्बर, अल्लाहु अक्बर, ला–ईलाहा–इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द“ र यसको नेपाली अर्थ “अल्लाह सबैभन्दा महान् छन्, अल्लाह सबैभन्दा महान् छन्, उनका अतिरिक्त पूज्य कोही छैन, अल्लाह (परमेश्वर) सबैभन्दा महान छन्, अल्लाह सबैभन्दा महान छन्, सबै प्रशंसा अल्लाहकैलागि हुन्“ भन्ने बुझिन्छ ।