नेपाल मुस्लिम इत्तेहाद संगठन जिल्ला कमिटी बाँकेले साउदी अरबस्थित पवित्र स्थान मक्का मदिनामा हज गर्न जाने नेपाली हजयात्रीहरुले तिर्नुपर्ने शुल्क सम्बन्धी नेपाल हज समितिले तोकेको चर्काे रकमप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल मुस्लिम इत्तेहाद संगठन जिल्ला कमिटी बाँकेका अध्यक्ष मो. उमर हलवाई तथा सचिव बिराउन शेषद्वारा जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत गृह मन्त्रीलाई पठाइएको ज्ञापनपत्र मार्फत हज समितिले तोकेको चर्काे रकम घटाउन जोडदार माग गर्दै त्यसप्रति प्रति ठूलो विरोध जनाएको छ । प्रष्ट नाम नै नखुलेको हज उपसमितिको हवाला दिँदै तोकिएको चर्काे शुल्क सम्बन्धी निर्णयको घोर निन्दा एवं भत्र्सना गर्दै विगतमा रु. २ लाख २५ हजारमा सम्पन्न हुने हज यात्रालाई हाल त्यसको दोब्बर अर्थात रु. ४ लाख ६३ हजार तोक्नु आफैमा अवैधानिक र बदनियतपूर्ण रहेको ज्ञापन पत्रमा उल्लेख रहेको छ । नेपालबाट जाने हज यात्रीहरुको खर्च अन्य राष्ट्रभन्दा कम रहने, गएको दुई वर्ष कोभिड–१९ को कारणले हज यात्रा हुन नसकेको र यसपालि पनि जोखिम रोक्न हज यात्री संख्या घटाइएको हुँदा मक्का मदिनामा थुप्रे आवासको लागि घरहरु खली रहने भएकाले हाल तोकिएको घरभाडा शिर्षक रकम धेरै भएको, मोअल्लिम दस्तुर विगत भन्दा तेब्बर तोकिएको, रु. ४ लाख ६३ हजार तिरेर नेपाली मुस्लिमलाई हज गर्न सहज नहुने, अब जाने कोटा पूरा नहुने र सिट खाली भएमा त्यसको जवाफदेहिता कसको हुने र पुराना आवेदन गरेकाहरुले अग्रिम भुक्तानी गरेको रु. १ लाख २५ हजार फिर्ता गर्न माग गर्न थालेपछि यस सम्बन्धमा के हज समितिले सो रकम फिर्ता गर्न सक्छ ? लगायतका मागहरु राखी सत्य तथ्य पत्ता लगाइ नेपाली मुस्लिमहरुको हजयात्रालाई सहज र सुलभ बनाउन जोडदार माग संंगठनले जोडदार माग गरेको छ । माग पूरा नभए आन्दोलन गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख रहेको छ । ज्ञापन पत्र बुझाउने समयमा नेपाल मुस्लिम इत्तेहाद संगठन केन्द्रिय उपाध्यक्ष मो. हारुन हलवाई, नेपाल मुस्लिम इत्तेहाद संगठन जिल्ला कमिटी बाँकेका अध्यक्ष मो. उमर हलवाई, सचिव बिराउन शेष, कोषाध्यक्ष मो. मोहसिन हलवाई, के. सदस्य अब्दुल हकीम हलवाई, जिल्ला सदस्य कासिम कबडिया लगायतको उपस्थिति रहेको थियो। धार्मिक तिर्थ यात्रालाई सहज र सुलभ नबनाइ चर्काे शुल्क कायम गर्नु अव्यवहारिक छ । हज यात्राका लागि तोकिएको रु. ४ लाख ६३ हजार निकै बढी भएकाले बढाइएको शुल्क तत्काल फिर्ता गरि हज यात्रा सहज बनाउनु पर्ने माग सम्पूर्ण मुस्लिम समुदायको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here