१२ पौष, नेपालगन्ज । बाँके प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ का ४० वर्षीय ईरफान अहमद शेखलाई शुक्रवार पक्राउ गरेको छ ।
नेपाल राष्ट्र बैंक वित्तिय जानकारी इकाई बालुवाटारबाट निजको बैंक तथा वित्तिय संस्थाबाट रु. ४ करोड ९२ लाख ८४ हजार २९६ रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको, नगदै रकम खातामा जम्मा हुने बित्तिकै विद्युतिय माध्यम मार्फत विभिन्न व्यक्ति तथा संस्थाहरुमा रकमान्तर हुने गरेको, उक्त कारोबारमा प्रायः आफै कन्डक्टरको रुपमा संलग्न भएको र केवाइसी विवरणमा उल्लेख भएको अनुमानित बार्षिक आम्दानी र कारोबार मेल नखाएको हुँदा निजलाई हुण्डी सम्बन्धि मुद्दामा अनुसन्धान गरी आवश्यक कानूनी कारवाही गर्नुहुन भनी मिति २०८२।०४।०७ गते जिल्ला प्रहरी कार्यालय, बाँकेलाई पत्राचार भई आएकोमा निज विरुद्ध हुण्डी सम्बन्धि मुद्दा दर्ता भई बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई प्रतिवादी फरार रहेकोमा शुक्रवार पक्राउ गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी गराएका छन् ।








