१५ फागुन, नेपालगञ्ज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकामा हरित अर्थतन्त्र परियोजना कार्यान्वयन गरिरहेको छ ।
क्लबका मुख्य संरक्षक परवेज अली सिद्दिकीले यस परियोजनाको अन्तिम लक्ष्य १८–२४ वर्ष उमेर समूहका युवा महिलाहरूको लागि सशक्तिकरण र रोजगारी सिर्जना गरेको बताए ।
उनले यो परियोजनाले वातावरण प्रदूषण, ग्लोबल वार्मिंग र जैविक विविधता ह्रासलाई कम गर्दै हरित व्यापार र उद्यमहरूलाई बढावा दिने बताए ।
बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले परियोजनामा सहभागि गराउने युवा महिलाको छनोटका लागि दुबै पालिकाका युवतीलाई अन्तरवार्तामा सहभागी गराइएको बताए ।
अन्तरवार्ता लिने कार्य राजापुर नगरपालिकाका रोजगार सहायक यमकुमार परियार, उद्यम विकास सहजकर्ता पूर्णबहादुर ओली र बाँके युनेस्को क्लबका परियोजना अधिकृत राधेकृष्ण थारूले संयुक्त रुपमा गरेका थिए ।
हरित व्यापार तथा उद्यममा संलग्न हुने गरी पहिलो चरणमा ३० जना महिलाको छनोट गरिने क्लबले जनाएको छ । छनोटमा परेका युवा महिलाले प्राङ्गारिक खेती, वर्मी कम्पोस्ट, टोपी, गुडियाजस्ता परम्परागत हस्तकलासम्बन्धी व्यावसायिक तालीम प्राप्त गर्ने युनेस्को क्लबका अध्यक्ष तुलाधरले जानकारी दिए ।
यसैविच बाँके युनेस्को क्लबका पदाधिकारी र व्यवस्थापन टोलीले परियोजनाका लागि महिला छनोट कार्यको स्थलगत अवलोकन गरेको छ । अवलोकनमा क्लबका मुख्य संरक्षक सिद्दिकी, अध्यक्ष तुलाधर, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here