नेपालगन्ज– सुरेन्द्रबहादुर हमाल नै संस्थापन समूहको आधिकारिक सभापतिको उम्मेदवार भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले बताएका छन् । नेपालगन्जमा मंगलबार पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्य बाल्मिकीले यस्तो बताएका हुन् ।

बाल्मिकीका अनुसार केन्द्रबाट आएको निर्देशन अनुसार आफूले बाँके कांग्रेसको सभापतिका उम्मेदवार हमाललाई आधिकारिक उम्मेदवार घोषणा गरेको बताए । उनले प्रवक्ता डा.प्रकाशशरण महतले हाम्रो समूहको आधिकारिक उम्मेदवार सुरेन्द्र बहादुर हमाल भएको जानकारी गराए अनुसार आफूले हमाललाई सभापतिको उम्मेदवार घोषणा गरेको बताए ।

बाल्मिकीले आज बिहान अर्का उम्मेदवार बादशाह कुर्मीले पत्रकार सम्मेलन गरेर आफूलाई अनेक आरोप लगाएको भन्दै उनले आपत्ति जनाउँदै भने, ‘मैले शेरबहादुर दाईको निर्देशन मानेर काम गरेको हुँ, केन्द्रीय सदस्य भएको नाताले केन्द्रको कुरालाई यहाँ घोषणा गरेको हो ।’ बाल्मिकीले केन्द्रबाट फोन आएपछि यसबारेमा आफूले सहमहामन्त्री किशोरसिंह राठौर र क्षेत्रीय सभापतिहरुलाई फोन गरेर जानकारी गराइसकेको बताए ।

आफूले गलत उम्मेदवार घोषणा गरेको भए २४ घण्टा बितिसक्दा समेत यसबारे कुनै प्रतिक्रिया नआएकाले सुरेन्द्र जी नै आधिकारिक हमाल भएको बताए ।
सभापतिका उम्मेदवार हमालले केन्द्रबाट नै आफूलाई आधिकारिक उम्मेदवार भनिसकेपछि अब विवाद गर्न जरुरी नरहेको बताए । आफू खेलाडी भएकाले अनुशासनको भरपुर पालना गर्ने व्यक्ति भएको बताउँदै हमालले केन्द्रले मलाई सभापतिको उम्मेदवार घोषणा नगरेको भए अनावश्यक रुपमा सभापतिको उम्मेदवार बनेर नहिँड्ने बताए ।

बाँकेमा संस्थापन समूहले सभापतिमा सहमति नजुटेपछि पदाधिकारीमा भने एउटै टिम बनाएको थियो । तर, केन्द्रीय सदस्य बाल्मिकीले उक्त टिम आफूलाई थाहा नै नदिएर मनोमानी ढंगले बनाएको भन्दै पत्रकार सम्मेलनमै आपत्ति जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here