२० माघ, नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि आज मनाइँदै छ ।
यो पर्व संसारबाट विदा भई स्वर्गीय भएकाहरुको स्मरण र उहाँहरुको आत्माको शान्तिको लागि मनाउने गरिएको छ ।
शबेबरात पर्वको अवसरमा यहाँ नेपालगन्जमा विभिन्न मस्जिदमा आज सामुहिक प्रार्थना सभाको आयोजन हुँदैछ । साथै अबेर राती इस्लाम धर्मावलम्बीहरुले कब्रस्तानमा पुगी स्वर्गीय भएका आफ्ना आफन्तहरुको आत्माको शान्तिको लागि प्रार्थना गर्ने भएका छन् ।
पर्वको अवसरमा घर–घरमा मिष्ठान्न र विभिन्न परिकार पकाई एक अर्काको घरमा बाँड्ने गरिन्छ ।
शबेबरात इस्लाम धर्ममा एक पवित्र रात मानिन्छ । यो इस्लामिक पात्रो अनुसार शाबान महिनाको १५औँ रातमा पर्छ । मुस्लिम समुदायले यस रातलाई मुख्यतः यी कारणले मनाउँछः
अल्लाहको रहमत र माफी माग्नः यस रातमा अल्लाहले आफ्ना बन्दाहरूलाई धेरै माफी दिनुहुन्छ भन्ने विश्वास छ ।
आफ्ना पापहरूको क्षमायाचना गर्नः मानिसहरूले नमाज, दुआ र इबादत गरेर आत्मसुधारको प्रयास गर्छन् ।
आगामी वर्षको तक्दिर (भाग्य) लेखिन्छ भन्ने मान्यताः जीवन, मृत्यु, रोजगारी, स्वास्थ्यजस्ता कुराहरू तय हुन्छन् भन्ने विश्वास पाइन्छ ।
स्वर्गीय भएका आफन्तहरूको सम्झना कब्रस्तान गएर दुआ गर्ने चलन छ ।








