१६ फागुन, नेपालगन्ज । यहि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाइ स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको आयोजनामा शुक्रबार नेपालगन्जमा सम्पन्न अन्तर–पुस्ता सरोकारवाला संवाद कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
सुशासन भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रक्रिया, जेनजी तथा यूवाको सहभागिता बिषयक अन्तर–पुस्ता सरोकारवाला संवाद कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला निर्वाचन आचारसहिंता अनुगमन अधिकृत पुर्ण बहादुर खत्रिले निर्वाचन आचारसंहिताको पुर्ण पालनका लागी प्रतिबद्ध रहेको बताए । आचारसंहिता पालनाको विषयमा हाल सम्म ४८ वटा गुनासो प्राप्त भएको र सबै गुनासोको सम्बन्धमा सम्बन्धित निकाय तथा ब्यक्तिलाइ जानकारी तथा निर्देशन दिएर फच्र्याैट भएसकेको बताउदै खत्रिले आचारसंहिताको पूर्ण पालना गर्न सबैलाइ आग्रह गरेका थिए । कुनै आग्रह वा पूर्वाग्रह नराखी स्वच्छ, निष्पक्ष तथा मर्यादित ढंगले निर्वाचन सम्पन्न गर्ने कार्यमा सबै पक्ष लाग्नुपर्नेमा उनको जोड थियो ।
सहभागीहरुले राखेका प्रश्नहरुको जवाफ दिदै सहायक प्रमुख जिल्ला अधिकारी खत्रिले विगतको निर्वाचनबाट भएको सिकाइको आधारमा निर्वाचन केन्द्रलाइ अपाँगतामैत्री र सबैको पहुँचयोग्य बनाउनका लागि सम्बन्धित मतदान अधिकृतलाइ निर्देशन दिइसकेको बताउदै गुनासोरहित निर्वाचन सम्पन्न गर्ने कार्यमा प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा बाँके जिल्लाका प्रहरी नायब उपरिक्षक दिपक पातलीले निर्वाचनलाइ भयरहित र निष्पक्ष बनाउन र आचारसंहिताको पालना गराउने कार्यमा कटिबद्ध भएर लागेको बताए । सुरक्षा निकायको तर्फबाट आम नागरिकलाइ शान्तिको प्रत्याभुति गर्न र निर्धक्का साथ निर्वाचन प्रक्रियामा भाग लिने वातावरण बनाउने कार्यमा गम्भिरताका साथ लागिपरेको बताउदै निर्वाचनलाइ मर्यादित र भयरहित बनाउन सबै ब्यक्ति स्वयं सचेत हुनुपर्ने उन्को भनाइ थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिब नमस्कार शाहले वर्तमान अवस्थामा सुशासन र भ्रष्टाचार नियन्त्रण, निर्वाचन आचारसंहिता, मतदाता शिक्षा लगायतका सन्दर्भ सहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।
गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाका कार्यबाहक अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नियोक बाँके शाखाका पुर्व अध्यक्ष अधिबक्ता लोक बहादुर शाहले निर्वाचन भनेको लोकतन्त्रको मेरुदण्ड भएको बताउदै आम मतदातालाइ मतदानमा सहभागि गराउने कार्यमा नागरिक समाजको भुमिका महत्वपुर्ण हुने बताए । कार्यक्रमका सहभागिहरुले आम मतदातालाइ निर्वाचनको विषयमा जागरुक बनाउनु आवश्यक रहेको बताएका थिए । सहभागिहरुले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगबाट सामाजिक द्वन्द्व र अशान्ति फैलाउने गतिविधि बढेको उल्लेख गर्दै सामाजिक सद्भाव र शान्ति कायम गर्न सबै पक्षले संयमता अपनाउनुपर्ने बताएका थिए । सहभागीहरुले मतदान केन्द्रको बुथ एकाइसम्म अपांगता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्ने विषय, भोट बदर कम गर्न प्रभावकारी निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने उपाय तथा सामाजिक सञ्जालको दुरुपयोग न्यूनीकरणका लागि रणनीति अपनाउनुपर्ने बिचार राखेका थिए । कार्यक्रमका सहभागि जेनजी (युवा) प्रतिनिधिहरुले भाद्र २३ र २४ गतेको आन्दोलनको मुल मर्म सुशासन र भ्रष्टाचार नियन्त्रण भएको स्मरण गर्दै युवाहरुको मागलाइ सम्बोधन गर्ने तर्फ निर्वाचन केन्द्रित हुनुपर्ने बताएका थिए ।
गैरसरकारी संस्था महासंघ नेपालका लम्बिनी प्रदेशका सहसचिब शंकर शर्माले सञ्चालन गरेको अन्तर पुस्ता सरोकारवाला संवाद कार्यक्रममा बिभिन्न नागरिक समाजका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मि, युवाहरु र बिभिन्न समुहका ब्यक्तिहरुले बोलेका थिए ।







