५ माघ, नेपालगन्ज । तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै छ ।
’ल्होछार’ शब्द ’ल्हो’ अर्थात् वर्ष वा साल र ’छार’ वा ’सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्वका साथ ल्होछार मनाउँदछन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मूलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्दछन् ।
अनेक तामझाम र उल्लासका साथ मनाइने यो पर्व प्रत्येक वर्ष नेपालमा तिब्बती नयाँ वर्षको सुरुवातको रूपमा मनाइन्छ । यो पवित्र अवसरको तयारी हप्तौँअगाडि नै गरिन्छ यस दिन पुरुष र महिलाले रंगीन तथा परम्परागत पोशाक लगाउँछन्, दम्फु बाजाबाट सिर्जना गरिएका परम्परागत संगीतमा नाचगान गर्छन्, र बिभिन्न परिकारहरूको स्वाद लिन्छन् ।
तामाङ समुदायबारे लेखिएका विभिन्न पुस्तकहरू अनि शोधहरू अध्ययन गर्दा ’ता’ भन्नाले घोडा अनि ’माङ’ भन्नाले लडाकुहरू भन्ने बुझिन्छ । यस अर्थमा साहसीहरूको समुदाय तामाङहरू वास्तवमै आफ्नो साहस, वीरता अनि रण कौशलताका लागि नेपालमा मात्र नभई संसारभरि प्रचलित छन् ।
तामाङहरूलाई प्रकृति प्रेमी समूदायकारुपमा चिनिन्छ, विशेष गरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारको अवसरमा कूल पूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समुदायमा आज छोरी चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ । सोनाम ल्होछार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरूले समेत शुभकामना सन्देश दिने चलन छ । ल्होछार मनाउने समुदायमा ’ल्हो’ अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गोरु, बाघ, खरायो, चील, सर्प, घोडा, बाख्रा÷भेडा, बाँदर, भाले, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट सुरु हुने यी वर्षहरू जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ । यस वर्ष (घोँडा बर्ग) वर्षलाई स्वागत गरिँदै छ ।







