२७ चैत्र, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालेको छ । नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना एवम् एनिमल नेपालको प्राविधिक सहयोगमा ‘सामुदायिक कुकुर बन्ध्याकरण शिविर’ गरेर सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको हो ।
रामलिला मैदानस्थित नारी विकास केन्द्रमा ६ दिनसम्म सञ्चालन हुने शिविरमा नगरभित्रका २०० कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिइएको पशु सेवा शाखा प्रमुख लक्ष्मी शाहीले बताए । कुकुरहरुको संख्या बृद्धि रोक्ने र पशुजन्य विभिन्न रोगहरुको संक्रमण नियन्त्रणका लागि सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको शाहीले बताए । रेबिज रोगको नियन्त्रण गर्ने उद्देश्यले पनि शिविर आयोजना गरिएको हो ।
शिविरको पहिलो दिन सोमवार आर्थिक विकास समिति प्रमुख एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले शिविरस्थल पुगेर बन्ध्याकरण शिविरको निरीक्षण गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाले बर्षेनी सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here