२७ जेठ, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले अब सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत वितरण गर्ने भएको छ ।
आगामी आर्थिक बर्षदेखि ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने पञ्जीकरण शाखा प्रमुख प्रबिणकुमार रानाले जानकारी दिए ।
‘इएफटी’ सेवा सुरु भएपछि लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधै बैंक खातामा पठाइनेछ । सम्झौता गरिएका बैंकको खातामा सम्बन्धित लाभग्राहीको रकम पठाइने रानाले बताए ।
यसअघि सरकारले पठाएको पैसा बैंकले लाभग्राहीको खातामा जम्मा गरिदिने गरेकोमा अब उपमहानगरपालिकाले पैसा पठाउनेछ ।
आगामी साउनदेखि पाइलटिंगको रुपमा नेपालगञ्ज उपमहानगरपालिकासहित ५० वटा स्थानीय तहमा ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका माधव शर्माले बताए ।
पञ्जीकरण शाखाले शनिवार नेपालगञ्जमा आयोजना गरेको ’इएफटी र व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षासंग सम्बन्धित कार्य सम्पादन स्तरका सवालहरुमा अन्तरक्रिया’ विषयक कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिव र बैंकका प्रतिनिधिहरुलाई ‘इएफटी’ भुक्तानी प्रणालीका विषयमा अभिमुखीकरण गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका शर्माले ‘इएफटी’ बारे जानकारी गराएका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालको अध्यक्षता एवम् नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा सामाजिक सुरक्षा भत्ता वितरणको अवस्था, समस्या र समाधानका विषयसंगै व्यक्तिगत घटना दर्ताको अवस्था, नागरिक चासो र सचेतनाको अवस्थाबारे छलफल गरिएको पञ्जीकरण शाखाकी तुलसा पन्थी आचार्यले बताइन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरणले लागग्राहीलाई अझ सहज हुने विश्वास व्यक्त गरे ।
विष्टले उपमहानगरपालिकाले सिधै लाभग्राहीको खातामा पैसा पठाइदिने भएपछि तत्काल पैसा निकाल्न सक्ने सहजता लाभग्राहीलाई हुने बताए ।
प्रमुख प्रशासकीय अधिकृत रिजालले ‘इएफटी’ मार्फत लाभग्राहीले प्रविधिमैत्री छिटोछरितो र सहज सेवा पाउन बताए ।
रिजालले विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न सघाउ पुग्ने उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here