२१ पौष, नेपालगञ्ज । मण्टेश्वरी एशोसिएशन बाँकेको छैठौं वार्षिकोत्सव सम्मान सहित मैत्रीपूर्ण वन भोज कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।
वार्षिकोत्सव कार्यक्रम डुडुवा गाउँपालिका वडा नं. ५ नानापुर स्थित सिद्धी विनायक लायन्स क्लब पार्कमा आयोजना गरिएको हो ।
एशोसिएशनकी अध्यक्ष दुर्गा बजगाईको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सवमा बाँके जिल्लाका विभिन्न १० वटा मण्टेश्वरी स्कुलका शिक्षिकाहरुलाई उनीहरुको अध्यापन, क्रियाकलाप लगायतको आधारमा मण्टेश्वरी एशोसिएशन बाँकेले निर्धारण गरेको मापदण्डको आधारमा मूल्याङ्कन गरी जिल्लाभरका १८ वटा मण्टेश्वरी स्कुल मध्ये १० वटा मण्टेश्वरी स्कुलका शिक्षिकाहरुलाई उत्कृष्ट शिक्षिकाको रुपमा सम्मान गरिएको हो ।
सो अवसरमा सम्मानित शिक्षिकाहरुलाई एशोसिएशनका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुकेले कदर पत्र सहित सम्मान गर्नु भएको छ । उनले सो अवसरमा बोल्दै भोलिका देशका कर्णधार आजका कलिला बालबालिकाको भविष्य निर्माण गर्ने र उनीहरुको उज्वल भविष्यको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्मानित शिक्षिकाहरुलाई बधाई दिँदै आमा बुवाले त जन्म दिने, पालनपोषण गर्ने मात्र गर्छन् तपाईहरुले त उनीहरुको उज्वल भविष्य निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य गरी रहनु भएको छ । त्यो कार्य एकदमै सराहनीय रहेको छ भने ।
यसैगरि मण्टेश्वरी एशोसिएशन बाँकेकी संस्थापक अध्यक्ष लुना बुढाथोकीले मण्टेश्वरीका शिक्षिकाहरुले ठुलो मेहनेतका साथ शिक्षण विधि, पद्धति र सिकाईबाट बालबालिहरुलाई पठन पाठन गर्ने काम गरी रहनु भएको छ । मण्टेश्वरीका सबै शिक्षिकाहरुले उत्कृष्ठ काम गरिरहनु भएको छ, तर निर्धारित मापदण्ड अनुसार मूल्याङ्कनमा उत्कृष्ठ हुन नसकेकोमा कसैले पनि खिन्नता महसुस नगरेर अर्को वर्ष उत्कृष्ठ हुने संकल्प गर्न आग्रह गरिन् ।
अध्यक्षको आसनबाट एशोसिएशनकी अध्यक्ष दुर्गा बजगाईले मण्टेश्वरीको अवधारणा अनुसारको शिक्षण विधि, पद्धति र सिकाईबाट बालबालिहरुलाई पठन पाठन गर्ने शिक्षिकाहरु मण्टेश्वरी स्कुलका मेरुदण्ड हुन् भन्दै उहाँहरुको बढी मेहनत र साधना जरुरी भएको बताइन् । शिक्षिकाहरुले उत्कृष्ठ पठन पाठन गरेर आफुलाई ब्राण्डिङ गर्ने काम गर्न उनले आग्रह गरिन् । मारिया मण्टेश्वरीले प्रतिपादन गरेको अवधारणा अनुसारको शिक्षण विधि, पद्दति र सिकाईबाट बालबालिहरुलाई पठन पाठन गर्ने गरिन्छ भन्नुहुँदै मण्टेश्वरी चलाउनु जस्तो कठिन र चुनौतीपूर्ण काम अरु केही छैन भनिन् ।
सो वार्षिकोत्सवमा “२०८० का उत्कृष्ट शिक्षिका” कदर पत्रबाट सम्मानित १० वटा मन्टेश्वरीका शिक्षिकाहरुलाई एशोसिएसनका सल्लाहकार पूर्णलाल चुकेले कदर पत्र प्रदान गरी सम्मान गरेका थिए । सम्मानित हुने शिक्षिकाहरुमा नोवेल प्रि मण्टेश्वरी कोहलपुरकी शिक्षिका मीना शर्मा लुइँटेल, लिटिल होराइजन मन्टेश्वरी नेपालगञ्जकी शिक्षिका मनदेवी पछाई, खुशी घर मन्टेश्वरी बैजनाथकी शिक्षिका गौरी राना, क्रियटिभ चिल्डूेन होम नेपालगञ्जकी शिक्षिका ज्योति चौधरी, स्माल हेवन मण्टेश्वरी कोहलपुरकी शिक्षिका रितु मल्ल, ग्रेस मण्टेश्वरी बैजनाथकी शिक्षिका बसन्ती घर्ती, बेवी ब्लुम मण्टेश्वरीकी शिक्षिका उर्मिला चन्द, मोडर्न क्रियटिभ चिल्डेून नेपालगञ्जकी शिक्षिका मेनुका सिंह ठकुरी, द नेपालगञ्ज पव्लिक मण्टेश्वरी नेपालगञ्जकी शिक्षिका उमा प्रजापति र दोस्रो पाइला मण्टेश्वरी कोहलपुरकी शिक्षिका खगीसरा शाहीलाई कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
एशोसिएसनका सचिव खिमा थापा मगरले सञ्चालन गरेको उक्त कार्यक्रमको शुरुमा एशोसिएसनका उपाध्यक्ष तथा वनभोज कार्यक्रमका संयोजक प्रभा थापामगरले स्वागत भाषण गरेकी थिइन् । कार्यक्रममा करीब पैतालिस जनाको सहभागिता रहेको थियो ।
’बालबालिकाको पहिलो प्राथमिकता मण्टेश्वरी विधिमा केन्द्रित गराउनु हो’ भन्ने मूल नारालाई आत्मसात गर्दै मण्टेश्वरी पघतिको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले वि.सं. २०७४ साल पौष २१ गतेका दिन बाँकेमा संस्थागत रुपमा “मण्टेश्वरी एशोसिएशन बाँके” गठन गरिएको थियो ।
सम्मानित भएका उत्कृष्ट शिक्षिका मध्येमा नोवेल प्रि मण्टेश्वरी कोहलपुरकी शिक्षिका मीना शर्मा लुइटेल, स्माल हयावेन मण्टेश्वरी कोहलपुरकी शिक्षिका रितु मल्ल, बेवी ब्लुम मण्टेश्वरीकी शिक्षिका उर्मिला चन्द, खुशी घर मन्टेश्वरी बैजनाथकी शिक्षिका गौरी रानाले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here