१९ श्रावण, नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी भदौ २ गते हुने निर्वाचनका लागि समावेशी प्यानलले टंकबहादुर धामी अध्यक्ष रहेको प्यानल घोषणा गरेको छ ।
प्यानलले बिहीबार दिउँसोे नेपालगञ्जको सिद्धार्थ कटेजमा निर्वाचन परिचालन समितिका संयोजक ईश्वर प्रसाद पोख्रेलको अध्यक्षता तथा प्यानलकोे सचिवालय संयोजक वसन्त लामिछानेले सञ्चालन गरेकोे कार्यक्रममा समावेशी प्यानलका प्रकाशन समिति संयोजक कोषराज रेग्मीले प्यानल घोषणा गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अध्यक्ष अब्दुल वाहिद मन्सुरी, विशेष अतिथिद्वय समावेशी प्यानलका संरक्षक पार्वता आचार्य र संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले समावेशी प्यानलको उम्मेदवारलाई माला, टीका र खादा लगाएका थिए ।
समावेशी प्यानलको अध्यक्षमा टंकबहादुर धामी, उपाध्यक्ष (उद्योग) चिरञ्जीवी ओली, उपाध्यक्ष (वाणिज्य) हरिलाल न्यौपाने, उपाध्यक्ष (महिला) मन्दिरा पाण्डे, महासचिव भीमबहादुर रानाभाट, उप–महासचिव मदनराज शर्मा र कोषाध्यक्ष पदमा सलाउद्दिन जसगढ घोषणा गरिएका छन् । सदस्यहरुमा इन्दिराकुमारी शाही, तोपबहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर विके, सुदन केसी, शिवराज वर्मा, धर्मेन्द्र सिंह ठटेर, टीकामणि उपाध्याय, डम्बरबहादुर चन्द र जमालुद्दिन अन्सारी चयन गरिएका छन् । वस्तुगत सदस्यद्वयमा अध्यक्ष, किराना व्यवसायी संघ, बाँकेका अध्यक्ष फणाधर भण्डारी र होटल व्यवसायी संघका अध्यक्ष रंगबहादुर खड्कालाई चयन गरिएको छ ।
एशोसियट सदस्यद्वयमा कमल कार्की र राजीव तलङ्गालाई घोषणा गरिएको थियो यद्यपि उम्मेदवार घोषणा गरिरहेकै बेला हलमा प्रवेश गरेका नेकपा (एमाले)का बाँकेका अध्यक्ष किश्मतकुमार कक्षपतिले समावेशी प्यानलका प्रकाशन समिति संयोजक कोषराज रेग्मीलाई एशोसियट बाहेकका नाम मात्र घोषणा गर्न आग्रह गरेका थिए ।
संयोजक रेग्मीले समावेशी प्यानलले सहमतिका आधारमा नै उम्मेदवार चयन गरेकाले आफूलाई दिएको जिम्मेवारी अनुसार एशोसियटको नाम रोक्न नमिल्ने जवाफ दिँदै कार्की र तलङ्गाको नाम घोेषणा गरेका थिए ।
निर्वाचन परिचालन समितिका संयोजक ईश्वर प्रसाद पोख्र्रेलको अध्यक्षता सम्पन्न घोषणासभामाप्रमुख अतिथि मन्सुरी, संरक्षण आचार्य, संघका निवर्तमान अध्यक्ष वैश्य र समावेशी प्यानलबाट अध्यक्ष पदका उम्मेदवार टंकबहादुर धामीले उद्योगी व्यवसायीहरुको हकहितका लागि समावेशी प्यानलका उम्मेदवारलाई जिताउन आव्हान गरेका थिए ।
अध्यक्षका उम्मेदवार धामीले निर्वाचनमा आफ्नो प्यानल निर्वाचित भए पहिलो कार्यक्रम नेपालगञ्जको जमुनाहा नाकामा गएर सीमा नाका व्यवस्थित गर्न दवाब दिने प्रतिबद्धता जनाएका थिए ।
समावेशी प्यानलले सोही अवसरमा १७ बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि, अतिथि र समावेशी प्यानलका उम्मेदवारहरुले संयुक्त रुपमा १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका थिए । प्रकाशन समिति संयोजक कोषराज रेग्मीले प्रतिबद्धतामा भएका विषयबारे विस्तृत रुपमा जानकारी गराएका थिए ।
प्रतिबद्धता पत्रमा भनिएको छ, नेपालगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनको विगतमा जस्तै हामी अहिले पनि एउटै समावेशी प्यानल बनाएर चुनावी अभियानमा आउन पाउँदा गर्व महसुस गरिरहेका छौं । हाम्रो एकताले व्यवसायीका बीचमा सकारात्मक भाव उत्पन्न गर्नुका साथै उद्योगी, व्यवसायी एकढिक्का हुनसक्छन् भन्ने सन्देश पनि दिएको छ । समृद्ध बाँके निर्माणमा सम्पूर्ण उद्योगी, ब्यवसायी, बाँकेबासी दाजुभाइ र दिदीबहिनीहरु एकजुट भएर अगाडि बढ्नका लागि संकल्प लिने बेला आएको छ ।
उद्योगी, व्यवसायीहरुका हरेक समस्या समाधान गरी अगाडि बढ्न सक्ने अनुभवी अग्रजहरु र नयाँ पुस्ताका उर्जावान साथीहरुको समिश्रणले संघमा अझै प्र्रभावकारी भूमिका निर्वाह गर्नसक्ने सशक्त समावेशी टिम बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here