२७ पौष, नेपालगन्ज । गम्भिर प्रकृतिको घटनालाई संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले अनुरोध गरेको छ ।
केहि दिन अघि बाँकेको डुडुवा गा.पा. वडा नं. ४ मा घटेको घटनाका विषयमा बाँके प्रहरीले हाल भइरहेको अनर्गल प्रचारप्रसारको खण्डन गर्दै अनुसन्धान कार्यमा सहजिकरण गर्न विज्ञप्तिमार्फत सबैमा अनुरोध गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक पातलीद्वारा आइतवार जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८२।०९।१७ गते जिल्ला बाँके डुडुवा गा.पा.वडा नं.०४ स्थित नाबालिकमाथि भएको जबरजस्ति करणी कसूरको सम्बन्धमा पीडित बालिकाको तर्फबाट दिइएको घटना सम्बन्धि जाहेरी दरखास्त यस कार्यालयले लिन नमानेको, पीडितलाई न्यायिक प्रक्रियामा असहयोग गरेको भनि पीडित पक्षले मिति २०८२।०९।२५ गते काठमाण्डौस्थित रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी जानकारी गराएको बिषयमा यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ ।
उपरोक्त घटना सम्बन्धमा पीडित बालिका मिति २०८२।०९।१७ गते यस कार्यालयको सम्पर्कमा आउना साथ सोही दिन निजको बिस्तृत स्वास्थ्य परिक्षण लगायतको प्रारम्भिक अनुसन्धान कार्य गरिएको । निज पीडित बालिकालाई लिई आउने सहजकर्ता मार्फत तत्काल जाहेरी दरखास्त ल्याउन आग्रह गरेकोमा हामी सल्लाह गरी आउँछौं भनी गएको तत्पश्चात सम्पर्कमा नआई मिति २०८२।०९।२२ गते हुलाक मार्फत यस कार्यालयमा पीडित बालिकाको आमाको नामबाट जाहेरी दरखास्त प्राप्त भएको ।
हुलाकबाट प्राप्त जाहेरी सनाखत पश्चात मात्र दर्ता गर्नुपर्ने मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को परिच्छेद २ को दफा ४ को (३क) मा ब्यवस्था भएको हुँदा सोही अनुसार जाहेरवालालाई सम्पर्क गर्दा सम्पर्क हुन नसकेको, प्रत्यक्ष निजको घर ठेगानामा प्रहरी गई सम्पर्क गर्न खोज्दा समेत निज घर ठेगानामा नभेटिएको हुँदा जाहेरवालालाई यस कार्यालयको सम्पर्कमा ल्याईदिन निजका आफन्त, सम्बन्धित संस्था र छिमेकीहरुलाई समेत पटक पटक अनुरोध गरेकोमा जाहेरवाला हाल सम्म यस कार्यालयको सम्पर्कमा नआएको हुँदा जाहेरी दर्ता हुन नसकेको ब्यहोरा सम्बन्धित सरोकारवाला सम्पुर्णमा जानकारी गराउँदछौं ।
नाबालिकमाथि भएको जबरजस्ती करणी जस्तो गम्भिर प्रकृतीको मुद्दामा यस कार्यालयले चासो नदिएको, अनुसन्धान नगरेको, जाहेरी दरखास्त नलिएको, बिभिन्न दवाब र प्रभावमा परेको, पीडितलाई बेवास्ता गरेको भन्ने कुराको खण्डन गर्न चाहन्छौं । यस्ता गम्भिर घटनालाई यस कार्यालयले अत्यन्त संवेदनशील भई घटनाको गहन ढंगले अनुसन्धान गरिरहेको र निरन्तर गरिनै रहने प्रतिबद्धता जाहेर गर्दै पीडित पक्षलाई प्रहरीको अनुसन्धानमा विश्वास गरी कुनै दवाब प्रभावमा नपरी यस कार्यालयको सम्पर्कमा आई जाहेरी दरखास्त सनाखत गरी अनुसन्धान कार्यमा सहयोग गर्नहुन यसै विज्ञप्ति मार्फत अपिल गर्दछौं ।
नेपाल प्रहरी संगठन सदैव नागरिकको सेवामा समर्पित रही, पीडितलाई न्याय दिलाई, पिडकलाई कानूनी दायरामा ल्याई कानूनी राज्यको प्रत्याभुति दिलाउँदै आईरहेको सर्वबिदितै छ । सोही बमोजिम पीडितको सुरक्षा, न्यायिक पहुँचमा सहजिकरण, दवाब रहित निष्पक्ष एवं बस्तुनिष्ठ अनुसन्धान गर्ने कार्यमा यस कार्यालय पुर्ण प्रतिबद्ध रहेको ब्यहोरा निवेदन गर्न चाहन्छौं ।
साथै यस घटनाको अनुसन्धान कार्यलाई प्रभावित गर्ने मनशाय राखी केही ब्यक्ति÷समुह तथा संचार माध्यमले ब्यक्तिगत स्वार्थ पुर्ति गर्ने कुण्ठित मनाशयका साथ पीडितलाई दवाब र प्रभावमा पारी अनर्गल प्रचारप्रसार गरी, पीडितलाई झन् पीडित बनाउने कार्य गर्दै आईरहेको हुँदा यस्ता गम्भिर प्रकृतिको घटनालाई संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गरिदिनहुन समेत सरोकारवाला सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here