२६ भाद्र, नेपालगञ्ज । संविधान दिवस–२०८१ तीन दिनसम्म विविध कार्यक्रम गरी देशभर भव्य रुपमा मनाइने भएको छ ।
लुम्बिनी प्रदेश सरकारले पनि संविधान दिवस–२०८१ लाई तीन दिनसम्म विविध कार्यक्रम गरी भव्य रुपमा मनाउने भएको छ ।
त्यसका लागि मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश मूल समारोह समिति गठन गरिएको छ । साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले संविधान दिवसमा आयोजना गरिने कार्यक्रमहरु स्वीकृत गरेको छ ।
आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म प्रदेश भित्र विभिन्न कार्यक्रम आयोजना गरिने छ । ती तीन दिन आम नागरिकलाई आ–आफ्नो घरमा दीपावली गर्न पनि प्रदेश सरकारले आह्वान गरेको छ । २ गते प्रदेशस्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गर्ने, प्रदेश सरकारी निकायका वेबसाइटमा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यरुपले मनाउने बारेमा सूचनाहरु सार्वजनिक गरिने छ ।
यसैगरी ‘संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धि र चुनौती’ विषयमा विज्ञसँग छलफल पनि गरिने छ । त्यसका लागि फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरसँग समन्वय गर्ने निर्णय भएको छ ।
असोज ३ गते बिहान विभिन्न सांस्कृतिक झाँकी सहित प्रभातफेरी आयोजना गरिने छ । त्यसपछि लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मूल समारोह आयोजना गरिने छ । मूल समारोहको प्रत्यक्ष प्रसारण आम सञ्चारका माध्यमबाट गर्न आह्वान गर्ने निर्णय गरिएको छ । यस्तै असोज ४ गते उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालयल सम्बद्ध सरोकारवालाहरुको समन्वयमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
असोज ३ का दिन २०७२ मा घोषणा गरिएको संविधानले २०६३ पौष १ गते ने.क.पा. माओवादी लगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानलाई प्रतिस्थापित गरिदिएर पूर्ण संविधान जारी गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here