३० चैत, नेपालगन्ज । अष्ट चिरञ्जीवि मध्येका माता अन्जनी र पवन पुत्र, राम भक्त हनुमान जीको जन्मोत्सव आज विभिन्न कार्यक्रमको आयोजन गरि भव्यताका साथ मनाइँदै छ ।
कलियुगमा श–शरीर उपस्थित भएका भगवान केवल हनुमान मात्रै हुन् । उनी रामायणको सबैभन्दा दयावान् अनि शक्तिशाली पात्रका रुपमा चिनिन्छन् ।
हनुमानकी आमा अञ्जना एउटी अप्सरा हुन् । अन्जानेरी पर्वतमा जन्मिएकी अन्जना आफूमाथि परेको श्रापको कारणले पृथ्वी लोकमा बसेकी हुन् । हनुमानका पिता सुमेरु पर्वतका राजा बृहस्पतिका छोरा केशरी हुन् । त्यसबाहेक, हनुमानका मतिमान, श्रुतिमान, केतुमान, गतिमान र धृतिमान नामक ५ साना भाइहरू छन् ।
आमा अञ्जनाले लामो समयसम्म भगवान् शिवको आराधना गरेपछि उनको आराधनाले भगवान् शिव प्रसन्न भए । त्यसपछि शिवले भगवान् वायुलाई आफ्नो पुरुष शक्ति अनि ऊर्जाहरूलाई केन्द्रित गरेर अञ्जनाको गर्भमा भरिदिन भनेपछि हनुमान गर्भमा आएकाले हनुमानलाई वायु पुत्र या पवन पुत्र भनिन्छ । हनुमान बाहेक महाभारतका कुन्तीपुत्र भीम पनि पवनपुत्र हुन्। हनुमान भगवान् रामका परम भक्त थिए । हनुमान प्रत्येक समय भगवान राम र सिताको सेवाको लागि तत्पर रहन्थे । उनको भक्ति भाव साह्रै अनुकरणीय छ । त्यसैले उनलाई भक्ति शिरोमणि भनिन्छ । त्यसबाहेक, हनुमानलाई बजरङ्गबली, केशरी नन्दन, पवन कुमार, मारुती, संकट मोचक आदि नामहरूले पनि चिनिन्छ । वनबास आएको बेला पत्नी सीता हराएकी चिन्तामा भएका रामको भेट आफ्नो भक्त हनुमानसँग भयो । हुन त भगवान् श्रीरामको जन्म भएपछि बालक रामको दर्शन गर्न हनुमान महादेव मदारीको रुप धारण गरि अयोध्या गएका थिए । उनले त्यसबेला बालक रामलाई आफ्नो वानर नृत्य देखाएर फर्किएका थिए ।
श्री हनुमान जन्मोत्सव नेपालगन्ज खानेपानी टंक नजीक रहेको हनुमत गौशालामा चैत्र २८ गतेदेखि ३० गतेसम्म विभिन्न धार्मिक कार्यक्रमको आयोजन गरि मनाइँदैछ । चैत्त २८ गते बिहीवार अखण्ड रामायण पाठ अष्टयाम संकीतर्न एवं निशान पूजन, चैत्र २९ गते शुक्रवार बालाजीको रात्रि जागरण एवं झाँकी तथा आज चैत्र ३० गते शनिवार दिउँसो १२ः३० बजेदेखि श्री सुन्दरकाण्ड पाठ भजन कीर्तन महाआरती एवं महाप्रसाद (विशाल भण्डारा)को आयोजन गरि श्री हनुमान जन्मोत्सव मनाउन लागिएको श्री सुन्दरकाण्ड मित्र मण्डलले जानकारी गराएको छ ।