८ चैत्र, नेपालगन्ज । बाँके यूनेस्को क्लबले राधाकृष्ण जनसेवा केन्द्रसँगको सहकार्य तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बालिका शसक्त परियोजनाअन्तर्गत मधुवन नगरपालिका–१, पत्थरभोजीमा स्टीम शिक्षासम्बन्धी तीन दिने प्रशिक्षक तालिम सम्पन्न गरेको छ ।
क्लबका अनुसार सो तालिमको उद्देश्य शिक्षकहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई एकीकृत रूपमा प्रयोग गर्ने विद्यार्थी–केन्द्रित शिक्षण विधिबारे ज्ञान तथा व्यवहारिक सीप प्रदान गर्नु रहेको थियो । तालिममा सिर्जनात्मकता, समालोचनात्मक सोच तथा समस्या समाधान क्षमताको विकासमा जोड दिँदै परियोजनामा आधारित सिकाइ विधिलाई प्राथमिकता दिइएको थियो ।
उक्त तालिममा गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा र बारबर्दिया नगरपालिकाका साथै बढैयाताल र गेरुवा गाउँपालिकाका ३७ जना प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।
पूर्वनिर्धारित मापदण्डका आधारमा छनोट गरिएका सहभागीहरूले तालिम अवधिभर अन्तरक्रियात्मक सिकाइ, छलफल तथा अनुभव आदानप्रदानमा सक्रिय सहभागिता जनाएका थिए ।
चयन भएका सहभागीहरूलाई आगामी दिनमा एकीकृत पाठ्यक्रम र शिक्षण विधिसम्बन्धी थप तालिम, स्टीम शिक्षासँग सम्बन्धित अध्ययन भ्रमण तथा विद्यालय र समुदायस्तरमा शिक्षक तालिम र शैक्षिक संवाद सञ्चालन गर्ने अवसर प्रदान गरिने बाँके युनेस्को क्लबले जनाएको छ ।
कार्यक्रममा मधुवन नगरपालिकाका शिक्षा प्रमुख नारायण प्रसाद खनालको पनि उपस्थिति रहेको थियो । उदघाटन सत्रमा लता ज्ञवालीले स्टीम शिक्षाको महत्व र यसको समाजमा पर्ने सकारात्मक प्रभावबारे प्रकाश पारिन् भने यज्ञराज पोखरेलले स्टीम विषयहरूको एकीकृत प्रयोगले सिकाइलाई अझ प्रभावकारी बनाउने बताए ।
तालमिको शुरुमा कार्यक्रमका उद्देश्यबारे क्लबका उपकार्यकारी निर्देशक गोविन्द प्रसाद लमिछानेले जानकारी दिएका थिए भने सहजीकरण मनोेज पौडेलले गरेका थिए । तालिमलाई कृष्ण खत्रीवडाले सहजीकरण गरेका थिए भने विजय शर्माले तीनै दिन सहजीकरणमा सहयोग गरेका थिए ।
कार्यक्रमको व्यवस्थापन तथा सञ्चालनमा धिरज चौधरी, मनोेज मजगैयाँ र मिनु थारुले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाइएको छ । सो तालिमले नवप्रवर्तनशील र समावेशी शिक्षा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।









