नेपालगन्ज, बैशाख १९ । संघीय सांसद जाबेदा खातुनले विद्यालयमा लैङ्गिक मैत्री शिक्षा, सरसफाई, प्रयाप्त शौचालय र छात्रालाई सेनेटरी प्याडको उपलब्धतामा बिशेष जोड दिनु पर्ने बताउनु भएको छ ।
उहाँले अहिले विद्यालयहरुमा प्रायजसो यिनै समस्याहरु देखिने गरेको जनाउँदै त्यसतर्फ ध्यान दिन सकिए विद्यालयलाई उत्कृष्ठ बनाउन सकिने बताउनुभयो ।
बाँके युनेस्को क्लबले प्लान नेपालको साझेदारीमा बासगढीमा सञ्चालन गरेको शिक्षकहरूलाई लैङ्गिक रूपान्तरण, समावेशी शिक्षा र कक्षा व्यवस्थापन सम्बन्धी तीनदिने क्षमता विकास तालिमको समापन गर्दै सांसद खातुनले सो बताउनुभयो ।
सो अवसरमा बोल्दै बाँसगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव मनप्रसाद रेग्मीले बालबालिकाहरुलाई संस्कारी र ब्यवहारिक शिक्षा विद्यालयबाट प्रदान गर्न विद्यालयका शिक्षकहरुको महत्वपुर्ण भुमिका रहेकोले सो तर्फ सबैले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालयको शैक्षिक सुधारका लागि विद्यालयका शिक्षकहरुलाई जिम्मेवार बनाउने उदेश्यले सो क्षमता विकास तालिमको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उक्त तालिममा अपाङ्गता भएका बालबालिकाहरूको शिक्षा अधिकार र शिक्षा सम्बन्धमा स्रोत ब्यक्ति तालिमका प्रशिक्षक सन्जिव कुमार जोशिले सहजीकरण गर्नुभएको थियो ।
सो तालिममा बाँसगढी नगरपालिकाका ११ वटा सामुदायिक विद्यालयका प्रधानाध्यपक र शिक्षकहरु गरि करिव ४० जनाको सहभागिता रहेको बाँके युनेस्को क्लबका अधयक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँका अनुसार तालिममा विद्यालयमा लैङ्गिकता, विद्यालयमा सुशासन, शिक्षा ऐन सरफाई, खानेपानी, प्रविधिमैत्री विद्यालय, शैक्षिक नेतृत्व, बालिकाहरुका समस्या र अपांगतामैत्री विद्यालय लगायतका विषयमा जानकारी गराइएको थियो ।
विद्यालयमा भौतिक तथा शैक्षिक सुधारका लागि तालिममा सिकेका महत्वपुर्ण ज्ञानले आगामी दिनमा थप काम गर्न सहज हुने तालिममा सहभागीहरुले प्रतिक्रिया दिनुभयो ।
सो कार्यक्रममा संघीय सांसद खातुन, बाँसगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव रेग्मी, बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, प्रमुख संरक्षक सिद्दिकी र अध्यक्ष तुलाधर लगायतले तालिमका सहभागिलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
तालिममा प्लान इन्टरनेशनल नेपालका परियोजना संयोजक झलकमान विश्वकर्माले सहभागीहरुलाई तालिमको उद्देश्य र परियोजनाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम संचालन कार्यक्रम संयोजक महेश नेपालीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here