१० फागुन, नेपालगञ्ज । विक्रम सम्वत् १९७९ मा स्थापित पश्चिम नेपालकै प्राचीन तथा ऐतिहासिक मन्दिर “श्री कालीथान मन्दिर” का पुजारी पण्डित मदन आचार्यको असामयिक स्वर्गारोहण भएको नवौं दिनको पुण्य तिथिको अवसरमा मन्दिर परिसरमा श्रद्धान्जलि कार्यक्रमको आयोजना गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ बेलासपुर स्थित उक्त मन्दिरका पुजारी पण्डित मदन आचार्यको मष्तिस्कघातका कारण उपचार गराउँदा गराउँदै फाल्गुन २ गते बिहान निधन भएको हो । उहाँका धर्म पत्नि, दुई छोरा र एक छोरी हुनुहुन्छ ।
कालीथान मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको श्रद्धान्जलि कार्यक्रममा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण पनि गरिएको थियो भने स्वर्गीय आचार्यको तस्वीरमा सहभागीहरुले फूल प्रसाद चढाएका थिए ।
सो अवसरमा कालीथान मन्दिर व्यवस्थापन समितिका वरिष्ठ सल्लाहकार तथा नागरिक अगुवा कृष्णराज पन्त र स्थानीय मधेशी समुदायका अगुवा समाजसेवी हौसीलाल चिडिमारले जीर्ण अवस्थामा रहेको मन्दिरको बेलासपुर टोलका श्रीमती लता शर्मा, धना ज्ञवाली, उमा देवी शर्मा र जयन्ति शाही लगायतका महिला समाजसेवीहरुको अग्रसरतामा वैधानिक रुपमा व्यवस्थापन समितिलाई स्वर्गीय शंकर प्रसाद रिमालको अध्यक्षतामा दर्ता गरेर मन्दिरको जिर्णोद्धार, संरक्षण सम्वद्र्धन तथा निर्माण विकास गरेको चर्चा गरे ।
कालीथान मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष श्रीमती लता शर्माले विक्रम सम्बत १९८९ सालमा स्थानीय नेपालगन्ज–२ घरवारी टोल निवासी भक्त स्वर्गीय राजमान श्रेष्ठद्वारा स्थापित पश्चिम नेपालकै प्राचीन मन्दिरको रुपमा परिचित कालीथान मन्दिरलाई वैधानिक र व्यवस्थित रुपमा सञ्चालन र संरक्षण गर्नका लागि २०५८÷०५९ सालमा जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता गरिएको बताउँदै मन्दिरले शुरुमा चर्चेको जग्गा र थप अरु केही जग्गादाता ऋषिकेश खनालबाट प्राप्त गरी मन्दिरको नाममा दर्ता गरिएको जानकारी दिइन् । मन्दिरको जिर्णोद्धार कार्यमा बेलाबेलामा तत्कालीन जिल्ला विकास समिति, नेपालगन्ज नगरपालिका, शान्ति मन्त्रालय तथा भक्तजनहरुको सहयोगमा हुँदै आएको जानकारी दिइन् ।
उनले भनिन्, ‘हिन्दू धर्म, संस्कृति तथा साँस्कृतिक परम्पराको जगेर्नाको लागि मन्दिर व्यवस्थापन समितिद्वारा विगतका दिनमा सप्ताह, पुराण महायज्ञ, धार्मिक तथा साँस्कृतिक पर्वहरुमा धार्मिक कार्यक्रम, नयाँ वर्षको दिन वैशाख १ गते शुभकामना आदान प्रदान कार्यक्रम, होलिका दहन, हरितालिका तिजको पञ्चमीमा व्रतालु महिलाहरुको सामूहिक पूजा आराधना तथा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको थियो ।’
उनले मन्दिरमा नित्य पूजा आजा गर्नको लागि २०६१÷२०६२ साल तिर पुजारी श्री मणिराम पौडेललाई मन्दिर परिसरमा आश्रय दिएर नित्य पूजाआजा गर्दै आएकोमा पछि उहाँले छोडेर गएपछि २०६३ साल कार्तिक २३ गते पुजारी स्व. श्री मदन आचार्यलाई नियुक्त गरी नित्य पूजाआजा र भक्तजनहरुको धार्मिक काममा योगदान दिनु भएको बताइन् ।
सो अवसरमा पाल्पाली समाजका अध्यक्ष समाजसेवी माधव पोखरेल, कालीथान मन्दिर व्यवस्थापन समितिका सचिव तथा वरिष्ठ पत्रकार पूर्णलाल चुके, स्थानीय माधवश्याम रेग्मी, पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्था लि.का व्यवस्थापक बामदेव भट्टराई, ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रका कार्यक्रम संयोजक महेश श्रेष्ठ, स्वर्गीय आचार्यका ८० वर्षिया आमा, स्थानीय हरिहर पन्त लगायत चार दर्जन भन्दा बढी महिला तथा पुरुष र स्व. आचार्यका आफन्तजनको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here