१ असोज, नेपालगञ्ज । यन्त्र र औजारको पूजा अर्चना गरेर आज विश्वकर्मा पूजा मनाइँदैछ ।
यन्त्र र औजारको पूजा गर्दा शाकाहारी र शात्विक रूपमा रहेर विश्वकर्मालाई संस्मरण गरिन्छ ।
औजार चलाउने कलकारखाना तथा ज्यासलका कालिगढ, मजदुर र मालिकबीच हार्दिकता व्यक्त हुने दिनका रूपमा पनि यो दिनलाई लिइन्छ ।
कल कारखाना र वर्कशपमा कार्यरत सबैले विश्वकर्माको पूजा मनाउने गरेका छन् ।
विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना गरेर निराहार व्रत बसी पूजाआजा सकिएपछि मात्र प्रसाद ग्रहण गर्ने र रातभर जसो अर्चना गरिन्छ । पूजा सकेर भोलिपल्ट मात्र विश्वकर्मा यात्रा गर्ने गराउने चलन छ । विभिन्न कलकारखाना, छापाखाना, फर्निचर कारखाना, औषधालय, आइरन लगायतका उद्योग व्यवसाय विश्वकर्मा पूजाका दिन बन्द हुन्छ ।
पौराणिक ग्रन्थहरुमा उल्लेख रहे अनुसार भगवान र देउताहरुको नगर र भवनहरु भगवान विश्वकर्माबाट निर्माण हुने गथ्र्याे । उनीको यो कार्य द्वापर युगसम्म चलेको उल्लेख पाइन्छ । द्वापर युगमा जरासन्धबाट योगीराज कृष्णको युद्ध भएको उल्लेख रहेको समेत पाइन्छ । सो समय जरासंधको उत्पात देखी भगवान श्रीकृष्ण गोकुल, मथुरा, वृन्दावन लगायत आफ्नो स्थान छाड्ने निर्णय गर्दै कुनै अर्काे स्थानमा नगरी बसाउने फैसला गरे । यसको लागि भगवान श्रीकृष्णलाई ठूलो भूमि चाहिएको थियो । भव्य नगर निर्माण गर्ने जिम्मा उहाँले भगवान विश्वकर्मालाई दिनु भएको थियो । यस समय भगवान विश्वकर्माले समुन्द्र राजसँग यो शर्तमा जमिन मागे कि जबसम्म श्रीकृष्ण रहन्छन् त्यस समयका लागि सो नगरी रहन्छ त्यसपछि आफ्नो भूमि फिर्ता लिनु होला । भगवान विश्वकर्माको कुरा मानेर समुन्द्रराजले आफ्नो ठूलो भूभाग छाडे त्यसै जमिनमाथि भगवान विश्वकर्माले वृहत द्वारिका नगरी बसाउनु भयो । यो नगर श्रीकृष्णको देहावसान भएपछि समुन्द्रले आफ्नो जमिन फिर्ता लिएका थिए । पछि द्वारिका नगरी पुनः समुन्द्रमा विलिन भएको थियो । यस द्वारिका नगरीको अवशेष समुन्द्रमा अहिले फेला परेको छ ।
यो घटना आजदेखि करीब ५ हजार वर्ष अघि भएको उल्लेख ग्रन्थहरुमा पाइन्छ जरासंधको कारणले नै भगवान श्रीकृष्ण मथुरा, गोकुल, वृन्दावनको त्याग गरी भगवान विश्वकर्माबाट निर्माण गरिएको द्वारिका नगरीमा शासन गर्नु भएको थियो । जरासंधको कारण आफ्नो स्थान छाडी द्वारिका जानु भएकोले उहाँलाई रणछोड भनिएको थियो ।
भगवान श्रीकृष्णको युद्ध नीतिमा युद्धको समय एक पाइला अघि बढाउनु पर्छ भने कहिल्यै ४ पाइला पछि हट्नु पर्छ । यो युद्ध नीतिको पालना आजसम्म जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here