२६ वैशाख, नेपालगञ्ज । विविध कार्यक्रमको आयोजना गरी आज कानुन दिवस मनाइँदै छ ।
नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।
विसं २००९ मा ऐतिहासिक रूपमा नेपालले न्यायालय ऐन जारी गरेको दिन वैशाख २६ लाई नेपालले कानुन दिवसका रूपमा मनाउँदै आएको हो । नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न एवम् नागरिकका हक अधिकार तथा स्वतन्त्रताको संरक्षण गर्न न्यायपालिकाले थप जिम्मेवारी बोधका साथ आफ्नो भूमिका निर्वाह गर्नु पर्ने आवश्यकतालाई यस दिनमा सबैतिरबाट जोड दिने गरिन्छ ।
नेपाली न्यायको इतिहास मल्लकालीन न्याय व्यवस्था, राम शाहका पालामा ‘न्याय नपाए गोर्खा जानु’ भन्ने उखान हुँदै मुलुकी ऐन अनि संविधानका चरणहरू हुँदै यहाँ आइपुगेको हो । इतिहासको पाना कोट्याउँदै जाँदा २००७ सालसम्म कार्यपालिका, न्यायपालिका अनि व्यवस्थापिका तिनै अगंहरु राणा शासकका हातमा रहेकामा फाल्गुन ७ को क्रान्ति सफल भएपछि वैशाख २६ गते २००७ सालमा पहिलो पटक केन्द्रीय न्यायालय स्थापना गरेर नेपालले स्वतन्त्र न्यायपालिका पाएको दिन हो, कानुन दिवस ।
सुस्तरी वि सं २००९ मा प्रथम र ऐतिहासिक न्यायालय ऐन २००८ जारी भयो । उक्त ऐनले प्रधान न्यायालयबाट गरिने फैसला आदेशहरू अकाट्य र अन्तिम हुने कानूनी ब्यवस्था गरेको थियो । यो नै आजको दिनसम्म आई पुगेको नेपालको स्वतन्त्र न्यायालयको प्रस्थान विन्दु थियो । यस दिनलाई प्रजातन्त्र र मानव अधिकारको जग बसेको दिनका रूपमा पनि लिने गरिन्छ । कानुन दिवसका माध्यमबाट अन्यायमा परेका जनसर्वसाधारणको न्यायिक पहुँचको सुनिश्चितता र न्यायालयप्रतिको सम्मान अभिवृद्धि हुने विश्वास गरिएको छ ।
प्रजातान्त्रिक अभ्यासमा राज्य चलाउन मुख्य तिन वटा अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका हुन, न्यायपालिकाको मुख्य कार्य भने न्याय प्रदान गर्नु र विधिको शासन स्थापित गर्नु हो । यस दिन सर्वोच्च अदालत परिसरमा दिउँसो विशेष कार्यक्रम आयोजना गरिन्छ भने देशैभरका न्यायलयसंग सम्बन्धी संस्थाहरुमा विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ ।
कानुन दिवसका दिन तिनै तहका अदालतहरू जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतमा विदा हुने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here