२१ मंसिर, नेपालगञ्ज । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने राम जानकी विवाह महोत्सव अर्थात विवाह पञ्चमी हर्षाेल्लासपूर्वक मनाइँदै छ ।
मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्र र माता सीताको पूजा आराधना सहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर विवाह पञ्चमी मनाउन लागिएको हो ।
त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा राम सीताको पूजाआराधना गरी यो पर्व मनाउने गरिएको छ ।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो ।
रामायण अनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहे सम्ममा सहभागी हुन्छन् ।
विवाह पञ्चमीको अवसरमा नेपालगञ्जमा आज पाँच जोडीको विवाह सम्पन्न हुने भएको जानकारी प्राप्त भएको छ ।
नेपालगञ्ज वडा नं. ७ स्थित रामजानकी मन्दिरमा आज पाँच जोडीको विवाह सम्पन्न हुने भएको छ ।
नेपालगञ्ज उमनपा वडा नं. ७ निवासी बेचुदयाल तमोलीका सुपुत्र वर्ष २१ का अयोध्या प्रसाद तमोलीको विवाह भारत खिरी धौरहराका पप्पु नागकी सुपुत्री वर्ष २० की शिवानी नागसँग, नेपालगञ्ज उमनपा वडा नं. ५ निवासी राजकुमार बनियाका सुपुत्र वर्ष २७ का शिवपुजन वैश्यको नेपालगञ्ज उमनपा वडा नं. ७ निवासी राजकुमार बनियाकी सुपुत्री वर्ष २० की निशा वैश्यसँग, नेपालगञ्ज उमनपाका अयोध्याप्रसाद केवटका सुपुत्र अंकित केवटको नेपालगञ्ज उमनपा वडा नं. १३ निवासी रामदास केवटकी सुपुत्री वर्ष २२ की नैना केवटसँग त्यस्तै भारत रुपैडिहा निवासी तिलकसिंहका सुपुत्र वर्ष २५ का राजसिंहको नेपालगञ्ज उमनपा वडा नं. १३ का बसन्तु घसियारा (केवट) की २१ वर्षीया सुपुत्री जानकी केवटसँग तथा तिलकराम गोडियाका सुपुत्र सुनिल गोडियाको बाँके गंगापुर–१३ का प्रेम गोडियाकी सुपुत्री वर्ष २२ की श्रुति गोडियासँग विवाह सम्पन्न हुने भएको सो मन्दिरका राम विवाहका संयोजक रमेश कुमार नागले बताएका छन् ।
विवाह पञ्चमी अन्तर्गत आज त्रिभुवनचोक सदरलाईन वडा नं. ११ स्थित रामजानकी द्वारिकाधीश मन्दिरबाट भव्य बरियात निस्केर त्रिभुवनचोक, सदरर्लाइन, त्रिवेणी मोड, बिस्कोरियनटोल सहाबा हुँदै वडा नं. ७ मा रहेको रामजानकी मन्दिरमा पुग्ने कार्यक्रम रहेको वर पक्षका संयोजक देवी प्रसाद सोनीले बताएका छन् ।
यसबीच वडा नं. ७ स्थित रामजानकी धर्मशालामा सय भन्दा बढि सहयोग गर्ने दाताहरुलाई प्रमाणपत्र वितरण गर्ने र सो धर्मशालामा ११ हजार भन्दा बढि रकम सहयोग गर्ने दाताको नाम शिला अभिलेखमा राखिने जानकारी सो समितिका संयोजक रमेश कुमार नागले बताएका छन् ।
आज सम्पन्न हुने सम्पूर्ण कार्यक्रममा बढि भन्दा बढि संख्यामा उपस्थित भइ दिन मन्दिर समितिले सम्पूर्ण नगरवासी भक्तजनहरुमा हार्दिक अनुरोध गरेको छ ।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव विधिपूर्वक मनाइने गरिएको छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।