२४ वैशाख, नेपालगञ्ज । बाँकेको नगरैनापुर गाउँपालिकाका विद्यालय तथा मदरसामा आइतबार छड्के चेकजाँच गर्ने क्रममा विद्यालयमा उपस्थिति नै नभई शिक्षकहरुले तलब लिएको पाइएको छ । गाउँपालिकाको वडा नम्बर ५ का अध्यक्ष एवम् शिक्षा अनुगमन तथा छानबिन समितिका संयोजक कृष्ण चन्द्र मौर्यसहितको टोलीले विद्यालयको छड्के अनुगमनका क्रममा विद्यालयमा शिक्षकको उपस्थिति नभएको, महिनौ दिनसम्म पनि विद्यालयमा उपस्थित नभई तलब लिएको, शिक्षकहरुले हप्तौदिनसम्म हाजिरी नगरेको पाइएको हो ।
अनुगमनका क्रममा नरैनापुर गाउँपालिका वडा नम्बर ४ जयरामपूर्वामा रहेको श्री मदरसा अहले सुन्नत सैयदुल उलुमकी शिक्षिका जयमती बैजाली र खाजा व्यवस्थापक रामजी साहु वैशाख महिनामा एक दिन पनि मदरसा नआएको पाइएको छ भने चैत महिनामा पनि शिक्षिका जयमती २ दिन र खाजा व्यवस्थापक रामजी एकदिन मात्रै मदरसा आएका थिए ।
अचम्म त उनीहरुले मदरसामा नआएपछि तलब भने पाइरहेका छन् । उनीहरु दुवैलाई गाउँपालिकाले राहतमा खटाएका कर्मचारी हुन् ।
यस विषयमा मदरसाका प्रध्यानाध्यपक इब्राइम खान उनीहरुलाई बारम्बार सम्पर्क गर्दा पनि मदरसा नआउने गरेको बताउँछन् । ‘उहाहरुलाई हामीले धेरैपटक फोन गरेका छौं । गाउँपालिकामा पनि निवेदन दिएका छौं । तर पनि उहाँहरु मदरसामा आउनु हुँदैन,’ खानले भने, ‘तर तलब भने उहाँहरुले पाइरहनु भएको छ ।’
त्यस्तै वडा नम्बर ५ मा जमुनहामा रहेको मदरसा गौसुलवरा जामिया अहिले सुन्नतमा अनुगमनका क्रममा संयोजक मौर्यसहितको टोली पुग्दा प्रध्यानाध्यापक नै भेटिएनन् भने शिक्षकहरुको हाजिरी रजिष्टर माग्दा आफूहरुलाई थाहा नभएको शिक्षकहरुले बताए । तर संयोजक मौर्यले दबाब दिएपछिमात्र शिक्षकहरुले हाजिरी रजिष्टर देखाए । उक्त हाजिरी रजिष्ट्ररमा कुनै पनि शिक्षकले वैशाख महिनामा हाजिरी गरेको पाइएन । त्यस्तै मदरसामा कति विद्यार्थी अध्ययनरत छन् ? भने प्रश्न गर्दा कोही पनि शिक्षकले त्यसको उत्तर दिन सकेनन् ।
एकजना शिक्षकलाई किन हाजिरी नगर्नु भएको भनेर संयोजक मौर्यले प्रश्न गर्दा उनले नयाँ आर्थिक वर्षको हाजिरी रजिष्टर नै नबनाएको जवाफ दिए ।
यस्तै बेतिथि वडा नम्बर ४, जमुनहामा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पनि देखियो । अनुगमनका क्रममा उक्र विद्यालयमा पनि प्रध्यानाध्यपक भेटिएनन् । कुनै कक्षा कोठा शिक्षक नै उपस्थिति नभएको पाइयो । अचम्म त ३ जना शिक्षक÷शिक्षिकाले त एकैपटक आएको र गएको हाजिरी लगाएको पनि पाइयो भने केही कक्षामा विद्यार्थीको पनि हाजिरी नगरेको पाइयो । साथै धेरैजसो शिक्षकले हप्तौदिनदेखि हाजिरी नै नगरेको पनि पाइयो ।
यस विषयमा संयोजक मौर्यले प्रश्न गर्दा शिक्षक÷शिक्षिकाहरु नयाँ वर्ष भएको, कक्षा भर्खर सुरु भएको, कोही छुट्टीमा भएको जस्ता जवाफ दिएर समस्यालाई लुकाउन खोजे भने केही शिक्षकले अनुगमन कै क्रममा विद्यार्थी र स्वयम् शिक्षक÷शिक्षिकाले हाजिरी गरे ।
सो क्रममा अनुगमनका क्रममा सबै विद्यालय तथा मदरसामा केही न केही त्रुटी, समस्या देखिएको संयोजक मौर्यले बताए । ‘यो पहिलोपटक हामीहरु यसरी छड्के अनुमगनमा गएका हौं । त्यसैले सबै विद्यालय र मदरसालाई मौखिक चेतावनी दिएर आएका छौ,’ मौर्यले भने, ‘ अर्कोपटक फेरि अनुमगनमा जाने छौं । यस्तै समस्या देखियो भने कारबाही गर्ने छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here