३ फागुन, नेपालगञ्ज । विज्ञान र प्रविधिको विकासको निम्ति विद्यालयस्तरबाटै वातावरणको निर्माण गर्न सन्देश दिदैं दोस्रो हिमालयन साईन्स फेस्टिवल नेपालगञ्जमा भव्य रुपमा सम्पन्न भएको छ ।
विद्यार्थीहरुले आविष्कार गरेका नयाँ खोजहरुलाई प्रोत्साहन गर्दै सकिएको फेस्टिवलले नेपालमा विज्ञान र प्रविधिको विकासका बारेमा नयाँ वहसको सुरुआत गरेको छ ।
आयोजक हिमालयन साईन्स फाउण्डेशनका अध्यक्ष एवम् फेस्टिवल संयोजक आतंक बस्नेतले उत्साह जनक रुपमा फेस्टिवलको दोस्रो संस्करण सकिएको बताए । उनले भने,‘हामी निकै खुसी छौं । विज्ञान र प्रविधिको क्षेत्रमा नेपालगञ्जबाट नयाँ वहसको सुरुआत भएको छ । विद्यालयहरुको सहभागिता निकै उत्साहजनक रुपमा भयो । गत संस्करणको तुलनामा प्रोजेक्टहरु पनि उत्कृष्ट आए । यसले विद्यार्थीहरुमा नयाँ खोज, अनुसन्धान गर्ने बानीको विकास भएको छ । र अनुसन्धानमा लागेका विद्यार्थीलाई आफनो प्रोजेक्ट देखाउने फेस्टिवल उत्कृष्ट माध्यम बनेको छ ।’
फेस्टिवल आयोजनामा सहयोग गर्ने निर्णायक, प्रायोजक, मिडिया, सहभागि विद्यालय, प्याब्सन बाँके र नेपालगञ्ज नगर कार्यसमितिलाई विशेष आभार प्रकट गरेको फेस्टिवल संयोजक बस्नेतले बताए ।
नेपालगञ्ज रंगशालामा फेस्टिवल समापनको अवसरमा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गर्दै फेस्टिवल समापन भएको थियो । फेस्टिवलमा कोहलपुरको त्रिभुवन नमुना माध्यमिक विद्यालय पहिलो, नेपालगञ्जको धम्बोझी माध्यमिक विद्यालय दोस्रो र कोहलपुरको बिभिएम सेकेन्डरी स्कुलका विद्यार्थीले बनाएको प्रोजेक्ट तेस्रो भयो । फेस्टिवलमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः ३० हजार, २५ हजार र २० हजार रुपैयाँ प्राप्त गरे । फेस्टिवलमा गोरखा युनाईटेड कोहलपुर, खजुराको ज्ञानोदय नमुना माध्यमिक विद्यालय, नेपालगञ्ज टेक्निकल कलेज र नेपालगञ्जको युनाइटेड एजुकेशनल एकेडेमीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । सान्त्वना स्वरुप पुरस्कार पाएका विद्यालयलाई जनही ६ हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।
समापन समारोहका प्रमुख अतिथि कोहलपुर नगरपालिका मेयर पुर्णप्रसाद आचार्यले हिमालयन साईन्स फेस्टिवल विद्यार्थीको खोज र अनुसन्धानलाई प्रोत्साहन गर्ने एउटा उत्कृष्ट कार्यक्रम भएको बताए । उनले भने, ‘विद्यार्थीलाई लक्षित गरेर यो फेस्टिवल आयोजना गरिएको रहेछ । एकदमै खुसी लाग्यो । यसले विद्यार्थीलाई विज्ञान र प्रविधिसँग नजिक गराउँछ । उनीहरुको प्रतिभा, जिज्ञासा र अनुसन्धान मुलुक कामलाई प्रोत्साहन गर्छ । विद्यार्थीको व्यवहारिक ज्ञानलाई प्रयोगात्मक तर्फ जोड्ने काम फेस्टिवलले गरेको छ । यो एकदमै फलदायी कुरा हो ।’
फेस्टिवलमा विश्वको प्रख्यात ब्रान्ड अमेरिकन कम्पनी एप्पलका पुर्व सफटवेयर आर्किटेक्ट विजय गौतम र नेपाल एकेडेमी अफ साईन्स एन्ड टेक्नोलोजीको(नास्ट) सिनियर साइनटिस्ट डा.टिस्टा प्रसाई जोशीले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
फेस्टिवलका विजेता र सान्त्वना पुरस्कार पाउने विद्यार्थीहरुलाई कोहलपुर नगरपालिका मेयर पुर्णप्रसाद आचार्यले पुरस्कृत गरे । फेस्टिवलको समापन अवसरमा मेयर आचार्यसँगै प्याब्सन बाँके अध्यक्ष यम रावत, नेपालगञ्ज उपमहानगर अध्यक्ष विकास बज्राचार्य, सचिव मान बहादुर थापा, एम्बिसन गुरुका जनरल म्यानेजर दिनेश कार्की, विज्ञान शिक्षक समाज लुम्बिनी प्रदेश संयोजक यमनाथ पौडेलले विजेता विद्यार्थीलाई पुरस्कृत गरेका थिए ।
फेस्टिवलको तेस्रो संस्करण अब पोखरामा गर्ने तयारी गरेको संयोजक बस्नेतले बताए ।
मंगलबारदेखि सुरु भएको फेस्टिवलको उद्घाटन नेपाल सरकारको सुचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् । फेस्टिवलमा विद्यालय स्तरका विद्यार्थीले आविष्कार गरेका विभिन्न ३५ प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको थियो ।
कक्षा ८ देखि १२ सम्मका सरकारी र निजि विद्यालयका विद्यार्थीले आविष्कार गरेका विज्ञान र प्रविधिका ‘फोटोटाईप’ प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको थियो । फेस्टिवलमा विभिन्न ९ विधामा विद्यार्थीले प्रोजेक्टहरु प्रर्दशनीमा राखिएको थियो ।
फेस्टिवललाई वालाबिज एजुकेशनल सर्भिसले मुख्य प्रायोजन गरेको छ भने प्याब्सन बाँके, प्याब्सन नेपालगञ्ज र विज्ञान शिक्षक समाज नेपालले सहयोग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here