२५ कार्तिक, नेपालगञ्ज । जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभाका लागि बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्ना प्रतिवद्धताहरूका दस्तावेजका रूपमा राख्न र चुनावपछि पूरा हुन नसकेका कामहरूप्रति प्रश्न गर्न मतदातालाई आग्रह गरेका छन् ।
क्षेत्र नं २ का विभिन्न ठाउँहरूमा शुक्रबार भएका चुनावी सभाहरूलाई सम्बोधन गर्दै उनले उम्मेदवारहरूलाई प्रश्न गर्नका लागि कसैलाई पनि नडराउन भनेका हुन् ।
उम्मेदवारमाथि प्रश्न गर्नु हरेक मतदाताको अधिकार भएको भन्दै उनले त्यो उम्मेदवारका लागि खबरदारी हुने पनि बताए ।
‘म कहिल्यै कतै भागेको छैन। जिते पनि जनतासँगै हुनेछु । अहिले पनि सँगै छु । हारे पनि म जनताकै बीचमा हुनेछु’ उनले भने ‘मैले यो क्षेत्रको विकासका लागि के के काम गर्छु भनेर सबै कुरा लेखेरै दिएको छु । त्यसलाई सुरक्षित राख्नुहोला, फेरि पाँच वर्षपछि मलाई सोध्न डराउनुपर्नेछैन ।’
जनतालाई कुनै झुटा वाचा र सपनाहरू आफूले नबाँडेको भन्दै चुनावमा वाचा वा प्रतिवद्धता भन्दा पनि काम गर्ने अठोट गरेको उनले बताए ।
दिनप्रतिदिन जसपाका उम्मेदवारहरूप्रति आम मतदाताको उत्साह बढ्दै गएको र त्यो उत्साह देखेर प्रतिपक्षीहरू अत्तालिएकोसमेत उनले बताए । तर अरूका भ्रम र सपनाहरूका पछाडि नलागेर काम गर्नसक्ने उम्मेदवारलाई मत दिन पनि उनले आग्रह गरे ।
‘प्रतिस्पर्धीहरू अहिले अत्तालिनुभएको छ । बर्बराइरहनुभएको छ। त्यो घवराहटले उहाँहरूको अवस्था प्रस्ट पारिसकेको छ’ राईले भनेका छन् ‘नडराउनुस्, यो क्षेत्रको विकास गर्ने हामी सबै मिलेर हो । हामीले चुनाव जिते पनि प्रतिस्पर्धीलाई विकासका साझेदार बनाउनेछौं। किनकि यो हामी सबैको साझा घर हो ।’
राईले धर्म वा जाति र सम्प्रदायको लागि नभएर यो क्षेत्रको समग्र विकासका लागि जसपाका उम्मेदवारहरूलाई मतदान गर्न पनि सम्झाएका छन् ।
‘गर्छु भनेका कामहरू मैले जसरी पनि गरिरहेको छु । नसक्ने काम गर्छु भनेर जनतालाई मैले कुनै झुटा सपना र वाचाहरू बाँडेको छैन। बाँड्ने पनि छैन’ उनले भने ‘विकास भइरहेको छ । अझै हुन्छ । मैले जसरी पनि यो क्षेत्रमा विकासको नयाँ लहर ल्याउने नै छु । लेखेरै दिएको छु सबै मतदाताहरूलाई। मतदाताको विश्वास कहिल्यै पनि तोड्ने छैन ।’
भावी पुस्ताले गर्व गर्नेगरी आफ्नो क्षेत्रको विकासका लागि जीवनभरि लडिरहने भन्दै राईले त्यसका लागि मतदाताले देखाएको उत्साह र प्रेमका कारण आफूले कहिल्यै नहार्ने पनि बताए।
शनिबार पनि नेपालगन्ज उपमहानगर र डडुवाका विभिन्न क्षेत्रमा चुनावी सभाहरू भएका थिए। ती सभाहरूलाई प्रतिनिधिसभा उम्मेदवार राई तथा प्रदेशसभाका उम्मेदवार आदेशकुमार अग्रवाललगायतले सम्बोधन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here