२३ मंसिर, नेपालगञ्ज । बाँकेका राप्ती सोनारी गाउँपपालिका वडा नं. २ माथेबासका वन्यजन्तुबाट प्रभावित समुदायहरुले वन्यजन्तुबाट भएको कुनै पनि क्षतिमा तत्काल राहत वा क्षतिपूर्ति पाउनु पर्ने बताएका छन् ।
उनीहरुले वन्यजन्तुले निरन्तर समुदायमा नोक्सानी गरिरहेको तर पिडित परिवारले क्षतिपुर्ति समयमैं पाउन नसक्दा ठूलो समस्या परेको बताएका छन् ।
समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले आइतबार आयोजना गरेको ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि गोलघर सम्वाद’का सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।
युएसएड÷द एसिया फाउण्डेशनद्धारा संचालित ‘नागरिक समाज र मिडिया’ परियोजनाको साझेदारीमा संचालित ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सिमान्तकृत समुदायको सबलीकरण अभियान’ अन्तर्गत सम्वाद गरिएको सीसीएनले जनाएको छ ।
माथेबासमा विशेषगरी हात्ती, बाघ र बाँदर लगायतका वन्यजन्तुले निरन्तर क्षती गर्दै आएको स्थानिय चित्रबहादुर डांगीले बताए । उनले भण्डारण गरेको अन्न समेत वन्यजन्तुले खाइदिने गरेको दुखेसो पोखे । जनमुखी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर खड्काले भने, ‘वन घना भएपछि वन्यजन्तु भइहाल्दो रहेछ, बाघले मेरो गाउँका छिमेकी केशबहादुर वलीको २ वटा जर्सी खाइदिएको धेरै भयो तर उनले अहिलेसम्म क्षतिपूर्ति पाएका छैनन् । वन्यजन्तुबाट भएको क्षतिको तत्काल राहत पाउने व्यवस्था मिलाउनुपर्छ ।’
ऐलानी जग्गामा बस्ने मानिसहरुले राहत नपाउने कुराले स्थानियलाई समस्या परेको पनि उनले बताए । कार्यक्रममा हात्तीको आक्रमणबाट लामो समयदेखि उपचारत ३४ वर्षिय लक्ष्मी वोहोराले अहिलेसम्म उपचार खर्च नपाएको गुनासो गरिन् । उनले उपचारका क्रममा ३ लाख रुपियाँ खर्च भएको र कतैबाट कुनै सहयोग नपाएको बताइन् । आफुहरुले क्षतिपुर्ति के पाइन्छ र कसरी पाउने नीतिगत व्यवस्था छ भन्ने बारे थाहा नै नपाएको स्थानिय शिवलाल पाण्डेले बताए ।
कार्यक्रममा सीसीएनका कार्यकारी निर्देशक तुला अधिकारीले वन्यजन्तु प्रभावितहरुकालागि राहत र क्षतिपूर्ति सम्बन्धि भएका व्यवस्था र पाउने प्रकृयाबारे सचेतनाका लागि गोलघर सम्बाद सुरु गरिएको बताए । कार्यक्रमको सहजिकरण बरिष्ठ पत्रकार जनक नेपालले गरेका थिए । कार्यक्रममा प्रभावित क्षेत्रका ३५ जनाको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here