११ माघ, नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकहरूले मानव–वन्यजन्तु द्वन्द्वले सिर्जना गरेको चुनौतीसँग निरन्तर जुधिरहेका छन् । विद्यालयदेखि घरसम्म पुग्ने बाटो मात्र होइन, दैनन्दिन कामहरू पनि डर र त्रासले भरिएका छन् ।
कक्षा १२ की ललीता कुँवर भन्छिन्, ‘हामी जंगलको नजिकै बस्छौं, जहाँ बाघ र चितुवाको डर सधैं रहन्छ । घरपरिवारले खेतीपाती, पशुपालन, र जंगलमा घाँसदाउरा जाँदा ज्यानकै जोखिम मोल्नुपर्छ ।’
समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले आयोजना गरेको शुक्रबार वातावरण बार कार्यक्रममा विद्यार्थीसँगै शिक्षकहरूले आफ्ना समस्याहरू खुला रूपमा राखे ।
सहायक प्रधानाध्यापक डिल्ली बहादुर डाँगीले भने, ‘हाम्रो समुदायमा वन्यजन्तुबाट हुने क्षतिको समस्या दिनप्रतिदिन बढ्दैछ । आजको छलफलले विद्यार्थीहरूलाई क्षतिपूर्तिको अधिकार, बीमा प्रक्रिया, र न्यायका उपायबारे नयाँ दृष्टिकोण दिएको छ । उनीहरूले यो ज्ञान आफ्ना घर र छरछिमेकसम्म पुर्याउने कुरामा म विश्वस्त छु ।’
कार्यक्रमका सहजकर्ता मदन ज्ञवालीले वन्यजन्तुको आनीबानी, राहत निर्देशिका २०८०, र बीमा प्रक्रियाबारे गहन जानकारी दिए ।
विद्यार्थीहरूले यो कार्यक्रमलाई शिक्षामात्र नभई जीवनको सुरक्षा र विकासका लागि आवश्यक कदमका रूपमा लिएका छन् ।
‘हामीले आज बीमा प्रक्रियाबारे धेरै कुरा सिक्यौं । यसले हाम्रो परिवारलाई वन्यजन्तुबाट सुरक्षित राख्न सहयोग गर्नेछ,’ ललीता कुँवरले थपिन् ।
वन्यजन्तु आतंकले उनीहरूको मात्र होइन, सिंगो समुदायको भविष्यलाई प्रश्नचिह्नमा राखेको छ । राहत प्रक्रियाको झन्झट, बीमा प्रक्रियाको जानकारी अभाव, र राज्यको सीमित पहुँचले समस्या झनै गम्भीर बनाएको छ ।
यो कार्यक्रम युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रमको साझेदारीमा नेपालगन्ज स्थित सीसीएन मार्फत् संचालित ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ अन्तर्गत गरिएको हो ।
७० जना सहभागी रहेको यस कार्यक्रममा विद्यार्थीहरूले आफ्ना आवाज बुलन्द गर्न सफल भए । शुक्रबार वातावरण बारले यी चुनौतीलाई समाधान गर्न नयाँ सोच र सामूहिक प्रयासको आवश्यकता रहेको देखाएको छ ।
यो अभियान बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर २ र बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा सञ्चालित छ । कार्यक्रमको रेडियो तथा भिडियो प्रसारण समेत गरिने सीसीएनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here