१७ मंसिर, नेपालगञ्ज । लागूऔषध अफिम र चरेससहित कोहलपुरमा श्रीमान र श्रीमति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कोहलपुर–८ पिपिरीका ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षीया कविता थापा रहेका छन् ।
लागूऔषध कारोबार हुँदै गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कोहलपुरबाट गएको प्रहरी टोलीले शनिबार राति ८ः४५ बजे उनीहरुलाई अफिम र चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उनीहरुको साथबाट बा ५ प ८२१५ नम्बर जीपसहित १२ किलो ७०४ ग्राम चरेश र २ किलो ११६ ग्राम अफिम बरामद भएको छ । पक्राउ परेका रेवन्त यसअघि पनि २०७१ चैत १९ गते जिल्ला प्रहरी बर्दियाबाट लागूऔषध कसुरमा पक्राउ परेका थिए । त्यसैगरी उनै रेवन्तविरुद्ध बाँके प्रहरीले २०७२ असोज २० गते सार्वजनिक अपराधमा मुद्दा दायर गरेको थियो ।
विभिन्न मुद्दा र सार्वजनिक अपराधमा संलग्न रेवन्तलाई इलाका प्रहरी कोहलपुरले २०७३ असार ३ गते लागूऔषध मुद्दामा पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।
पक्राउ परेका दम्पतीसँग लागूऔषध कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यस कसुरमा उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ को दफा १४ बमोजिम १५ वर्षदेखि जन्मकैद र रु. ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिबाना हुन सक्ने प्रावधान रहेको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here