२४ माघ, नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका आउनका लागि नरैनापुर २ रोसनपुर्वाका स्थानीयवासी अहिले पनि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको बताएका छन् ।
नरैनापुर गाउँपालिकाले ३ करोड लागतमा रोसनपूर्वाको बाटो निर्माण सुरु पछि स्थानीयहरु हर्षित भएका छन् ।
गाउँपालिकाको दक्षिण कुनामा भारतीय सीमासँग जोडिएको रोसनपुर्वा गाउँका बासिन्दा राज्यकोे उदासिनताका कारण आफ्नै पालिका आउनका लागि वर्षौदेखि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीयवासी मोहम्मद मुज्ममीलले बताए ।
रोसनपुर्वाबाट आफ्नै देशको भूमि प्रयोग गरेर गाउँपालिका र सदरमुकाम आउने यातायातको सुविधा नभएका कारण त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न बाध्य भएको अर्का स्थानीयवासी नजिर खाँकोे भनाई छ ।
वर्षौ पछि गाउँपालिकाले बाटोको निर्माण सुरु गरे पछि स्थानीयहरु उत्साहित भएका छन् । स्थानीय नजिर खाँले भने, ‘हाम्रा बच्चाहरु स्कुल जान पाएका थिएन्न, नियमित रुपमा लगाईने खोप सहित शिक्षा, स्वास्थ्य र मतदान गर्न पाउने अधिकारबाट बन्चीत थियो । तर अब बाटो बनेपछि सहजता आउने छ ।’
६ किलोमिटरको बाटो तय गर्न उनीहरुलाई भारतीय बाटो प्रयोग गर्दा रु १५० र अढाई घण्टा समय लाग्ने गरेको स्थानीयवासी राजेश यादवले बताए ।
नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुर गाउँपालिका संग रोसनपूर्वालाई जोड्ने नेपाली सडक वर्षौपछि ३ करोड लागतमा निर्माण सुरु गरिएको बताउँदै अब रोसनपूर्वाका नागरिकहरुलाई भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यताको अन्त्य हुने दावी गरे ।
योजना शाखा प्रमुख प्रकाश अधिकारीले ६ किलो मिटरको बाटो निर्माण सुरु भएको बताउँदै ५ महिना भित्रै सडकको निर्माणको काम सम्पन्न गरिने जानकारी दिए । रोसनपुर्वा गाउँमा ६ सय घरधुरी संख्या रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here