१२ मंसिर, नेपालगञ्ज । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने राम जानकी विवाह अर्थात विवाह पञ्चमी आज मनाउन लागिएको छ ।
मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्र र माता सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर विवाह पञ्चमी महोत्सव मनाउन लागिएको हो ।
त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा राम सीताको पूजाआराधना गरी यो पर्व मनाउने गरिएको छ ।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव विधिपूर्वक हुने गरेको छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो । रामायण अनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ ।
सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।
आज नेपालगञ्जमा पनि विभिन्न कार्यक्रम गरि विवाह पञ्चमी महोत्सव मनाउन लागिएको छ ।
नेपालगञ्ज वडा नं. ११ द्वारिकाधीश मन्दिरबाट भगवान श्रीरामको बरियात वडा नं. ७ गगनगञ्जस्थित श्रीराम जानकी मन्दिरमा आएर विवाह महोत्सव मनाउने तयारी रहेको छ ।
यस अवसरमा भारत बहराइच निवासी हंसराजका पुत्र बिष्णुसँग बाँके जानकी गाउँपालिका गनापुर वडा नं. ६ निवासी दयाराम कहारकी सुपुत्री धनपता कहारसँग विवाह सम्पन्न हुने भएको छ ।
विवाह पञ्चमीकै अवसरमा प्रसाद ग्रहण कार्यक्रमको समेत आयोजन गरिएको श्रीराम जानकी मन्दिरका अध्यक्ष रामप्यारे वर्माले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here