२३ चैत्त, नेपालगन्ज । नेपालगन्जमा भोलिदेखि रात्रिकालीन क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको छ ।
तेस्रो संस्करणको ‘राजा खान नेपालगन्ज टी–12 क्रिकेट प्रतियोगिता’ भेरी रकर्स स्पोर्टस क्लबको आयोजनामा सञ्चालन हुन लागेको हो ।
आज शनिवार नेपालगन्जमा आयोजित प्रेस कन्फ्रेन्समा भोलि बेलुका ८ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ स्थित विशालचोक मैदानमा प्रतियोगिता भव्यरुपमा सञ्चालन हुने आयोजकले जानकारी गराएको छ ।
यो प्रतियोगितालाई टाइटल स्पोन्सर समाजसेवी राजा खानले गरेको क्लबका सचिव साहिल अन्सारीले जानकारी गराए जसका कारण प्रतियोगिताको टाइटलमा समेत उनको नाम जोडिएको हो ।
सचिव अन्सारीका अनुसार यस प्रतियोगितालाई सफल बनाउन नेपालगन्ज उपमहानगरपालिका, एजुकेशनल पार्टनरमा एक्सपर्ट एजुकेशन, सगरमाथा ई.बोर्डिङ सेकेन्ड्री स्कुल, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १, ८ र १८ को कार्यालय, स्पोर्ट्स ग्यालेक्सी लगायतले सहयोग गरेका छन् ।
कुल १४ लाख लागतमा सम्पन्न हुने उक्त प्रतियोगितामा बाँकेबाट ४० वटा टिमले सहभागिता जनाएको अध्यक्ष मोहम्मद साजिद खानले जानकारी गराए । उनका अनुसार हाल सम्म १० लाखको व्यवस्था भईसकेको र बाँकी ४ लाखको लागि विभिन्न स्थानीय तह लगायतका संघ–संस्थाहरुसंग आवश्यक समन्वय भईरहेको छ ।
पहिलो संस्करणमा ५० हजार, दोस्रोमा एक लाख हुँदै यस तेस्रो संस्करणमा अझै वृद्धि गर्दै प्रथमलाई एक लाख २५ हजार रुपैँया नगद पुरस्कार राशी राखेको सचिव अन्सारीले जानकारी गराए । यस्तै उपविजेतालाई ६० हजार नगद पुरस्कार राशी उपलब्ध गराइनेछ ।
म्यान अफ द सिरिजलाई हिमालयम साइकल्सको तर्फबाट एउटा साईकल उपहारको व्यवस्था गरिएको छ । नेपाल स्टील फर्निचर उद्योगको तर्फबाट बेस्ट ब्याट्सम्यान र बलर लाई दराज उपहारको समेत व्यवस्था गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here