२८ चैत्र, नेपालगञ्ज । नेकपा(एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा संघ नेकपा (एमाले)को बलियो खम्बा भएको बताएका छन् ।
बाँकेको नेपालगञ्जमा सोमवारदेखि सुरु भएको संघको नवौ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले नेकपा (एमाले)लाई सिध्याउने जालझेल र गठबन्धनलाई परास्त पार्दै सम्पूर्ण क्षेत्रमा पार्टीले सशक्त रुपमा प्रमुख हैसियत बनाउनुमा युवा संघको ठूलो भूमिका रहेको उल्लेख गरे ।
‘राष्ट्रिय युवा संघ नेकपा (एमाले)को बलियो खम्बा हो । यसले पार्टीलाई अफ्ठेरो परेको बेला नेपाली जनतालाई अफ्ठेरो परेको बेला जोश र जाँगरका साथ आफ्नो जिम्मेवारी पुरा गर्दै आएको छ’, अध्यक्ष ओलीले भने, ‘महाधिवेशनमा पदका लागि होईन काम र जिम्मेवारी निर्वाह गर्ने सोंचका साथ दुई वर्षसम्म रात दिन सक्रियताका साथ खट्नसक्ने क्षमता हुन जरुरी छ ।’
२०४७ सालमा संविधान जारी हुने वा नहुने आशंका रहेको बेला संविधान जारी गराउन र जनताको पक्षमा गराउन युवा संघले भूमिका खेलेको स्मरण गर्दै अध्यक्ष ओलीले अहिले पनि युवा संघले राज्य सत्ताको दुरुपयोग हुन नदिन, आम निर्वाचन स्वच्छ बनाउन र जनताको पक्षमा गराउन भूमिका खेलेको भन्दै प्रशंसा गरे ।
सोही कार्यक्रममा बोल्दै पार्टी उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमालेविरुद्ध जालझेल र षडयन्त्र गरेर अहिले बनेको गठबन्धनले मुलुकको निकास दिन नसक्ने बताए ।
व्यवस्था परिवर्तन भन्दा पनि जनताको अवस्था परिवर्तन गर्नेतर्फ जोड दिदै उनले अहिले युवा आन्दोलनको भूमिका बदलिएकोले ठिक ढंगले परिस्थितिलाई पहिचान गर्दै नीति कार्ययोजना बनाएमात्रै अघि बढ्न सकिने धारणा व्यक्त गरे ।
पार्टी महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिमा एमालेसँग अन्य कुनै पनि दलको तुलना हुन नसक्ने बताए ।
पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकालले युवा संघ हरेक कठिन परिस्थितिमा मल्हम बनेर जनतालाई उर्जा दिने संगठन भएको बताए ।
पार्टी पोलिटव्यूरो सदस्य एवम युवा विभाग इन्चार्ज महेश बस्नेतले समग्र युवा आन्दोलनको समिक्षा गर्दै युवालाई सामाजिक रुपान्तरण गर्न महाधिवेशनले मार्गनिर्देशन गर्ने बताए ।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा भएको महाधिवेशन उद्घाटन समारोहमा पार्टी पोलिटव्यूरो सदस्य, निरुदेवी पाल, केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज सूर्य ढकाल, अनेरास्ववियुका अध्यक्ष समिक बडाललगायतले बोलेका थिए ।
संघका महासचिव क्षितिज थेवेले सञ्चालन गरेको कार्यक्रममा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेललाई रु. एक लाख राशीको केपी ओली प्रतिभा पुरस्कार र ट्रफी प्रदान गरिएको थियो ।
उद्घाटन समारोहमा कलाकारहरु अस्मिता अधिकारी, बद्री पंगेनी, विश्व नेपाली र प्रकाश तिमिल्सेनाले सांगीतिक प्रस्तुति गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here