१६ भाद्र, नेपालगञ्ज । कतार च्यारिटी नेपालको सहयोगमा बाँकेमा सञ्चालित सामाजिक संरक्षण परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले गरिब, विपन्न र अनाथ बालबालिकालाई छात्रबृति लगायत विभिन्न सहयोग प्रदान गरेको छ ।
क्लबले नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरेर अति विपन्न परिवारका बालबालिकालाई छात्रबृत्ति सहयोग प्रदान गरेको छ भने गरिब परिवार, अनाथ बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई समेत सहयोग प्रदान गरेको छ ।
क्लबका कोषाध्यक्ष फिरदौस जहाँ खानको अध्यक्षतामा आयोजना गरिएको सो सहयोग वितरण समारोहको प्रमुख अतिथि क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी रहनु भएको थियो ।
कतार च्यारिटिको सहयोगमा विभिन्न स्थानीय विद्यालय र मदरसाहरूमा अध्ययनरत १२१ अनाथ बालबालिकालाई शिक्षाका लागि छात्रबृत्ति वितरण गरिनुका साथै ८ जना शारीरिक अपाङ्गता भएकालाई दैनिक आधारभूत आवश्यकता पुरा गर्न सहयोग र ५ जना छात्रालाई स्नातक तहसम्मको शिक्षा प्राप्त गर्न सहयोग प्रदान गरिएको क्लबका प्रमुख संरक्षक सिद्दिकीले बताउनुभयो ।
सोही प्रकारले ४ अति गरिब परिवारलाई खाद्यान्न र अन्य आधारभूत आवश्यकताहरू पुरा गर्न सहयोग गरिएको तथा अनाथ बालबालिकाका अभिभावकहरूलाई उनीहरूको शिक्षामा सुधार गर्नका लागि कन्भिन्स गर्न ५ जना सामाजिक परिचालक नियुक्त गरिएको पनि उहाँले बताउनुभयो ।
सो अवसरमा क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, कोषाध्यक्ष फिरदौस जहाँ खान, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, वित्त तथा प्रशासन प्रमुख वेद पंगालीले बालबालिकालाई सो सहयोग वितरण गर्नुभयो ।
सो अवसरमा कार्यक्रम अधिकृत गुलाम गौस र फिल्ड सुपरभाइजर बिशेष गुप्ताको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here