नेपालगञ्ज, फागुन १ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा युवा महिलाहरुको रोजगारी प्रवद्र्धनका लागि स्थानीय अवसर विषयमा एक संवाद कार्यक्रमको आयोजना गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवाद कार्यक्रम आयोजना गरिएको हो । ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालको अध्यक्षता र नगरपालिकाका मेयर तिलक लम्सालको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको सो संवाद कार्यक्रममा युवा महिला, अभिभावक र सेवा प्रदायक निकाय रोजगारवालाविच विषयमा व्यापक छलफल र विचारविमर्श गरिएको क्लबले जनाएको छ । युवा महिलाहरुको उद्यमशिलता, विकास र रोजगारी सृजना गरि महिलाहरुको आर्थिक अवस्था र जिवनस्तर सुधार गर्नका लागि सो कार्यक्रम सञ्चालन गरिएको परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो । ठाकुरबाबा नगरपालिकाका मेयर तिलक लम्सालले युवा महिलाहरुलाई काम गर्ने इच्छा भएमा स्तर हरेर पालिकाबाट बजेट सहयोग गर्ने, युवाहरुलाई समुहगत रुपमा सहयोग गर्ने, कृषि विकास बैंकमा सिफारिस गरि रकम उपलब्ध गराउने र पशु, कृषि र पर्यटनमा विशेष लगानी गर्ने बताउनुभयो । उहाँले रोजगारीमा लाग्न चाहनेलाई बजेटको अभाव नहुने प्रतिवद्धता पनि सो अवसरमा जनाउनुभयो । सो संवाद कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले आर्थिक अवस्थामा सुधारका लागि महिलाहरुले इच्छाशक्ति देखाउनु पर्ने जनाउँदै व्यवसायलाई निरन्तरता दिएमा सहयोगको कमि नरहने दावी गर्नुभयो । उहाँले मागका आधारमा योजना बनाएर अघि बढेमा नगरपालिकाले सधैं सहयोग जारी राख्ने बताउनुभयो । महिला तथा बालबालिका शाखा प्रमुख गगनसरा आचार्यले रोजगारीमा लाग्ने महिलालाई नगरपालिकाको घुम्ती कोषबाट ४ प्रतिशत व्याजमा रकम उपलब्ध गराइने बताउनुभयो । सो कार्यक्रममा शिक्षा शाखा प्रमुख सिता भण्डारी, योजना प्रमुख अनन्तराज सुवेदी र स्वास्थ्य शाखा प्रमुख विष्णु ज्ञवालीले पनि छलफल र संवादमा भाग लिनु भएके थियो । सो संवाद कार्यक्रमको सहजीकरण बसन्त कुमार बिसीले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here