नेपालगञ्ज, पुस २८ । बाँके युनेस्को क्लबले कतार च्यारेटीको सहयोगमा सञ्चालन गरेको तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । तालिम समापनको अवसरमा तालिममा सहभागि महिलाहरुलाई सिलाई मेसिन सेटसहित विभिन्न औजारहरु वितरण गरिएको छ । अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक शसक्तिकरणका लागि साना तथा मझौला उद्यम विकास परियोजना अन्तर्गत सो तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको थियो । तालिममा नेपालगञ्जका २० जना अति विपन्न तथा एकल महिलाको सहभागिता रहेको थियो । तालिमको समापन समारोहमा नेपालगञ्ज उपमहानगर महिला तथा बालबालिका महाशाखा प्रमुख शोभा शाह, शिक्षा, खेलकुद र युवा महाशाखा प्रमुख गोरख बहादुर थापा, कतार च्यारेटी नेपालका डेपुटी डायरेक्टर ईर्शाद शेष, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी र क्लबका कोषाध्यक्ष फिरदोस जहाँ खानले सहभागिहरुलाई मेसिन सहितका सामाग्री र प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा बोल्दै महिला तथा बालबालिका महाशाखा प्रमुख शोभा शाहले विपन्न महिलालाई स्वरोजगार बनाउने उदेशयले प्रदान गरिएको यो तालिम र वितरण गरिएको मेसिनलगायतको सामाग्रीले आयआर्जनमा सहयोग गर्ने बताउनुभयो । उहाँले कतार च्यारेटि र युनेस्को क्लबले गरेको यो कार्य निकै सराहनीय रहेको उल्लेख गर्दै महिलाहरुलाई तालिमको सदुपयोग गरेर आर्थिक अवस्था सुधारमा ध्यान दिन अनुरोध गर्नुभयो । क्लबका कोषाध्यक्ष फिरदोस जहाँ खानले तालिमले विपन्न महिलाको आर्थिक अवस्थामा ठुलो परिवर्तन ल्याउने विश्वास गरिएकोले सिपलाई व्यवहारमा उतारेर रोजगारीमा लाग्न आग्रह गर्नुभयो । सो अवसरमा तालिमका सहभागिहरुले तालिम सिकाउनुका साथै रोजगारीका लागि मेसिन लगायत सबै सामाग्री दिएकोमा आफुहरु निकै उत्साहित भएको प्रतिक्रिया दिएका थिए । सो अवसरमा कतार च्यारेटिका कार्यक्रम संयोजक जाहिद खान, बाँके युनेस्को क्लबका वित्त तथा प्रशासन प्रमुख वेद पंगाली र कार्यक्रम अधिकृत गुलाम गौस लगायतको उपस्थिति रहेको थियो । तालिमका सहभागिहरु सबैलाई सिलाई मेसिन एक सेट, आइरन प्रेस, नाप गर्ने काठको स्केल, कैंची र कपडा समेत उपलब्ध गराईएको क्लबले जनाएको छ । बाँके युनेस्को क्लब मार्फत कतार च्यारेटीले जिल्लाका विभिन्न पालिकामा विपन्न र असहायका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here